
सोमवार , आषाढ ४, २०८१
भैरहवा, ३ असार ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले विविधतायुक्त हाम्रो समाजमा यी चाडपर्वहरुले परम्परा, धर्म, संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । इस्लाम धर्माबलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अजहा) को अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री महराले यस्तो बताएका हुन् । वकर ईदले शान्ति, समृद्धि, त्याग, समर्पण भाव, सत्मार्गमा अगाडि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।
‘देश, विदेशमा रहनुहुने सम्पूर्ण मुस्लिम दाजुभाइ, दिदीबहिनी तथा सबै नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् प्रगतिको शुभकामना व्यक्त गर्दछु, ’उनले भने । बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय तथा भौगोलिक विविधतायुक्त नेपालमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै तृष्णा, लोभ, द्धेषलाई त्यागेर सकारात्मक सोचको विकास गरी समाज रूपान्तरणमा यस्ता चाडपर्वहरुले सहयोग पुर्याउने उनको भनाइ छ ।
‘आपसी सद्भाव, भ्रातृत्व, त्याग, सेवा तथा सम्मानको भावना बकर ईद पर्वले पैदा गर्नेछ । सामूहिक रुपमा नमाज पढेर, आफन्त र प्रियजनहरुसँग शुभकामना साटासाट गरी मनाइने यो पर्वले शान्ति र भाइचाराको सन्देश प्रवाह गर्दछ, ’उनले भने ।
‘इस्लाम पात्रो हिजरी सम्वत् अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दसौं दिनमा यो पर्व मनाइन्छ । ईदलाई आत्मशुद्धिको पर्व पनि भनिन्छ । यो पर्व मनाउनु अघि इस्लाम धर्मावलम्बीहरू बिहानै नुहाइधुवाइ गर्दछन् । शरीरलाई शुद्ध बनाउँछन् । त्यसपछि नयाँ वस्त्रधारण गरि शुद्ध भइ मस्जिद वा इदगाहमा पुगेर नमाज पढ्ने प्रचलन रही आएको छ । मुस्लिम समुदायले मनाउने यो पर्व एउटा उत्साह र समानताको प्रतीक हो, ’शुभकामना सन्देशमा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij