
मंगलवार , आषाढ ५, २०८१
भैरहवा, ४ असार ।
रुपन्देहीको कञ्चन गाउँपालिकाले कृषि क्षेत्रको विकासमा जोड दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । कञ्चनको १६ औं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष नवराज ढकालले आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्वाचनका बेला वाचा गरेका कार्यक्रमलाई समेटेर नीति तथा कार्यक्रम ल्याइएको जनाए । पालिकाले ‘समुन्नत कञ्चन, सुखी कञ्चनबासी’ लाई साकार पार्न फजुल खर्च कटौती गरी विकासमा लगानी गर्ने योजना ल्याएको छ ।
त्यस्तै सुशासनयुक्त गाउँपालिका बनाउन जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम लगायत सबैको अपनत्व हुन जरुरी रहेको अध्यक्ष ढकालले बताए । पालिकाले कृषि क्षेत्रको विकासमा जोड दिएको छ । व्यवसायिक खेती गर्ने कृषकहरुलाई पालिकाले सोचेको, कृषकले रोजेको कृषक प्रोत्साहन तथा अनुदान कार्यक्रम सञ्चालन गरिने, उत्पादकत्व वृद्धि गर्न कृषि यान्त्रीकरण र बजारीकरणको नीतिलाई अवलम्बन गरिने, रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्न अडहर बालीलाई प्राथमिकता दिई बाँझो जग्गालाई निरुत्साहन गरिनेछ उल्लेख छ ।
पशु सेवातर्फ ‘उत्पादन साथमा अनुदान हात हातमा’ भन्ने नारालाई आत्मसाथ गर्दैै पशुपन्छी पालक किसानको हानी नोक्सानी कम गर्न पशु बीमा कार्यक्रम सञ्चालनमा गरिने जनाइएको छ । श्रम तथा रोजगारतर्फ वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने कल्याणकारी सेवाहरु कामदारको घरपरिवारका लागि सदस्यलाई प्रदान गरिने, औषधी उपचार सहयोग, आर्थिक सहायता तथा सेवाहरु बोर्ड संगको सहकार्य र समन्वय सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पालिकाभित्र रहेका पर्यटकीय स्थलहरुको विकासमा जोड दिई आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन विशेष कार्यक्रम सञ्चालन गरिने, वित्तीय तथा सहकारीलाई उत्पादन तथा आत्मनिर्भरका कार्यक्रम ल्याउन विशेष जोड दिइने, स्थानीयस्तरमा उपलब्ध हुने जडीबुटी कच्चा पदार्थ, सीप, श्रम र प्रविधिको उपयोग गर्न घरेलु उद्योगको स्थापना गर्न जोड दिइने उल्लेख छ ।
त्यसै गरी शिक्षा क्षेत्रको विकासका लागि सामूदायिक तथा संस्थागत विद्यालयहरुको असल अभ्यास आदानप्रदान गरी नतिजा सुधार गर्न विषयगत शिक्षक कलष्टर तयार गरिने, सामूदायिक विद्यालयका शैक्षिक प्रशासन सञ्चालन एवं व्यवस्थापनका लागि प्रधानाध्यापकले गाउँपालिकाको कार्यालयसँग र शिक्षकले प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गर्ने व्यवस्था मिलाउने नीति कार्यक्रममा जनाइएको छ ।
खेलकुदको विकास र प्रोत्साहनमुखी कार्यक्रम अघि सारिने, ‘स्वस्थ कञ्चन, समृद्ध कञ्चन’ बनाउनका लागि स्वास्थ्य कार्यक्रमसँगै सचेतनाका अभियानलाई निरन्तरता दिइने बताइएको छ । ‘अध्यक्षसँग स्वस्थ्य शिशुदेखि जेष्ठ नागरिक सम्मको नीति लिँदै नवजात शिशु र आमाको पोषण, स्वास्थ्य परीक्षण शिविरहरुलाई घरदैलोसम्म पुर्याइनेछ’, अध्यक्ष ढकालले भने ।
पालिकाभित्र रहेका ऐतिहासिक तथा पुरातात्विक वस्तुको संरक्षणसँगै भाषा, कला, संस्कृति र पर्यटनतर्फ पहिचानमुखी सामाग्री उत्पादन तथा वितरणमा सुविधा तथा सहुलियत उपलब्ध गराइने, गाउँपालिकाका विपन्न परिवारहरुलाई निःशुल्क धारा जडान गर्नका लागि खानेपानी उपभोक्ता समितिसँग आवश्यक छलफल गरी सामाजिक उत्तरदायित्वमार्फत धारा जडान गर्न र अनुगमन र नियमनका लागी आवश्यक व्यवस्था मिलाइने, लैंगिक समानता र सामाजिक समावेशीकरण कार्यक्रममा महिलाहरुलाई सक्रिय सहभागी बनाई सहकारी तथा समूहहरुलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
बालमैत्री स्थानीय तह निर्माणका लागि अध्यक्षसँग बालबालिका कार्यक्रम, जेष्ठ नागरिक सम्मान कार्यक्रम, अपांग, दलित, विपन्न, अल्पसंख्यक परिवारलाई ज्ञान र सीपमूलक कार्यक्रम सञ्चालन गरिने, हिलाम्य बाटाहरु पीच, ढलान, सिंचाई, तटबन्ध र जोड्ने पुल निर्माण गरी आम जनतामा विकास अनुभूति गर्ने नीति ल्याइएको छ । प्रदेश तथा केन्द्र सरकारसँग आवश्यक बजेट माग गरी अपुरा र अधुरा रहेका पूर्वाधारलाई पूर्णता दिइ पालिकाभित्र रहेका डकर्मीहरुलाई भवन संहिता सम्बन्धी तालिम दिइने उल्लेख छ ।
मानव संशाधनको विकाससँगै राजस्व वृद्धिका लागि करको दायरा फराकिलो बनाइ मैले तिरेको कर मेरै विकास लागि भन्ने धारणालाई बढवा दिइने जनाइएको छ । पालिकाले गत वर्ष बेरुजु कम गराएको जनाउँदै आगामी वर्षमा शुन्य बेरुजु बनाउन प्रतिबद्ध रहेको अध्यक्ष ढकालले उल्लेख गरे ।
आम जनतामा सार्वजनिक सूचनाको पहुँच पुर्याउन रेडियो, टेलिभिजन कार्यक्रम सञ्चालन गरिने र वन तथा सार्वजनिक सम्पति संरक्षण गर्दै क्षति पुर्याउनेलाई कानूनी दायरामा ल्याउन पहल गरिने नीति तथा कार्यक्रममा बताइएको छ ।
न्याय पाउनु हरेक नागरिकको अधिकार भन्ने मान्यतालाई आत्मसाथ गर्दै जीतजीतको माध्यमबाट न्याय दिलाउन पालिका कटिबद्ध भएको उनले बताए । पालिकालाई हरभरा र स्वच्छ बनाउन फोहोरमैला व्यवस्थापन कार्यक्रमलाई अघि सारेर निजी साझेदारीको अवधारणा अनुरुप ल्याण्ड फिल्ड साइट निर्माण गरि फोहोरमैला व्यवस्थापन गर्ने निकाय, व्यक्ति, संस्थासँग आवश्यक समवन्य गरी फोहोर मलाई भन्ने नारासहित मुख्यमुख्य चोकहरुमा डष्टबीन राख्ने, सुकुम्बासी समस्या समाधान गर्न लागि आवश्यक प्रयास भएको र करको दर घटाउन निरन्तर पहलकदमी भएको बताइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij