
बिहिवार , फाल्गुण १३, २०७७
बुटवल, १३ फागुन।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बर्तमान राजनीतिक अस्थिरताको कारक केपि शर्मा ओली भएको बताएका छन्। प्रतिनिधी सभा पुनःस्थापनाले संबिधान थप बलियो बनाएको तर्क गर्दै महामन्त्री सिंहले प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने समेत बताए।
प्रम ओलीकै कारण मुलुकमा राजनैतिक अस्थिरता उत्पन्न भएको उल्लेख गर्दै महामन्त्री सिंहले नयाँ सत्ता समीकरणमा ओली र कांग्रेसको गठबन्धन बन्न सक्ने संभावना रहेको समेत आंकलन गरेका छन्। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे ओली समुह र काँग्रेसको एजेण्डा मिल्ने भएकाले नयाँ सत्ता समीकरणमा ओली र कांग्रेसको गठबन्धन बन्ने महामन्त्री सिंहको भनाइ रहेको छ ।
प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दे महामन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै एमसीसी पारित गर्ने पक्षमा रहेको खुलासा गरेका थिए।
अब नेपालमा भारत, अमेरिका लगायत विदेशी शक्तिको चलखेल बढ्ने बताउदै सिंहले संसद विघटनको घटनाले नेपालमा भारत–अमेरिका पक्ष बलियो र चीन पक्ष कमजोर भएको सिंहको विश्लेषण छ ।
प्रतिनिधि सभा पुनर्स्थापनाले संविधान थप बलियो र विश्वसनीय भए पनि राजनीतिक अस्थिरता भने बढ्ने अनुमान गर्दै नेता सिंहले राजनीतिक अस्थिरताको कारक भने स्वयं ओली नै रहेको समेत बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij