
बुधवार , आषाढ ६, २०८१
भैरहवा, ५ असार । रुपन्देहीको भैरहवास्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री श्री रण अम्बिका शाह आँखा अस्पताल सिद्धार्थनगर, रुपन्देहीको भवन (एलईआई अपरेशन थियटर बिल्डिङ) निर्माणको बाटो खुलेको छ । अस्पतालविरुद्ध परेको रिटमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
निवेदक बाबुल निर्माण सेवाको सफिक महमदसमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहन नपर्ने आदेश जारी गरेको हो ।
जारी आदेशमा, ‘निवेदक आफै बोलपत्र प्रक्रियामा समावेश भइ प्राविधिक प्रस्ताव र छनौट भएको बोलपत्र दाताको आशयको सूचना उपर सार्बजनिक खरिद ऐन बमोजिम तोकिएको अधिकारी समक्ष कुनै उजुरी नगरी बसेको देखिएको र निवेदकले उठाएको बिषयबस्तुको सम्बन्धमा बिपक्षीहरुबाट लिखित जवाफ परी प्रस्तुत रिट निवेदकको अन्तिम सुनुवाइ हुँदाको बखत निरुपण हुने देखिएकाले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु रहनु पर्ने देखिएन’ उल्लेख छ ।
न्यायाधिशद्वय सुभाष पौडेल र सोमकान्त मैनालीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । निवेदकोतर्फबाट अधिवक्ता महेन्द्र पाण्डे र जोख बहादुर खत्री तथा आँखा अस्पतालकोतर्फबाट अधिवक्ता धर्मबहादुर खड्का र गोकर्ण सिंह थापा र विपक्षी नव सिर्जनशील कन्सट्रक्सन कम्पनी प्रा।लि।को तर्फबाट गोविन्द प्रसाद मरासिनी, बिपक्षी ए।पी।एम। कम्पनी प्रा।लि।को तर्फबाट रामजी प्रसाद ज्ञवालीको बहसपश्चात अदालतको यस्तो आदेश जारी गरेको हो ।
भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालको भवन निर्माणका लागि आव्हान भएको ठेक्का प्रक्रिया यथास्थितिमा राख्न उच्च अदालत तुल्सीपुर बुटवल इजलासले अल्पकालीन आदेश दिएको थियो । ठेक्का प्रक्रियामा मिलेमत्तो भएको भन्दै बाबुल निर्माण सेवाका सञ्चालक सफिक महमदले निषेधाज्ञा मिश्रित उत्प्रेषण परमादेश माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश रेखा थापा पाण्डेको एकल इजलासले अन्तरिम आदेश सम्बन्धी छलफलको लागि दुवै पक्षलाई जेठ ३२ गते बोलाएको थियो ।
उक्त अवधिसम्म गत चैत १६ मा बोलपत्र प्रकाशित भइ प्रारम्भ भएको प्रक्रियादेखि जेठ ४ गते र जेठ १८ सम्ममा प्रकाशित सूचना समेत यथास्थितिमा राख्नु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ ९१० बमोजिम विपक्षीहरुको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । उक्त मुद्दामा निवेदकको तर्फबाट अधिवक्ता महेन्द्र पाण्डे र जोखबहादुर खत्रीले बहस गरेका थिए ।
अस्पतालले शल्यक्रिया कक्ष भवन निर्माणका लागि २२ करोड ३० लाख रुपैयाँको भवन बनाउन टेण्डर आव्हान गरेको थियो ।
आफू अनुकुलको निर्माण कम्पनीलाई ठेक्का दिलाउन प्रतिष्पर्धामा गएका कम्पनीहरू योग्य हुँदाहुँदै प्राविधिक प्रस्ताव अस्वीकार गरिएको आरोपसहित निर्माण व्यवसायी सफिक महमदसमेतले अस्पताललाई बिपक्षी बनाई अदालतमा रिट हालेका थिए ।
टेण्डरमा कविन्द्र निर्माण सेवा काठमाडौ, एपिएम कन्स्ट्रक्सन एण्ड विल्डर्स प्रालि काठमाडौं र नव श्रृजनशिल कन्सट्रक्सन कम्पनी प्रा.लि. सिनामंगल, काठमाडौंको प्राविधिक प्रस्ताव स्वीकृत गरी बोलपत्रदाताहरुको नाम छनोट गरिएको थियो । जसमध्ये नव श्रृजनशिल कन्सट्रक्सन कम्पनी प्रा.लि.को बोलपत्र स्वीकृत भएको थियो ।
श्री रण अम्बिका शाह आँखा अस्पताल सिद्धार्थनगर, भैरहवाले पत्रकार सम्मेलन गरी संस्थाको विधि–विधान तथा प्रचलित नियमकानून बमोजिम स्वीकृत बोलपत्र किताबको अधिनमा रही टेण्डर प्रक्रिया अगाडि बढाइएको दावी गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij