
बिहिवार , फाल्गुण १३, २०७७
भैरहवा, १३ फागुन ।
लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा १२ औं लियो कर्पोरेट सुपर सिक्सेज टुर्नामेन्ट हुने भएको छ । विगत ११ वर्षदेखि हुँदै आएको प्रतियोगिता यसवर्ष फागुन १५ गते शनिबार हुने क्लबले जनाएको छ ।
क्लबले बिहीबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा नबिल, एनएमबी, नेपाल इन्भेष्टमेन्ट, लक्ष्मी, सिद्धार्थ, ग्लोबल आइएमई बैंक, महालक्ष्मी विकास, साइन रेसुंगा डेभलपमेन्ट, कृषि विकास, मुक्तिनाथ विकास, तिनाउ मिसन डेभलपमेन्ट र आइसीएफसी फाइनान्स लिमिटेड गरी १२ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष समिर पौडेलले बताए । यो टुर्नामेन्ट आइसीसी सुपर सिक्सेज टुर्नामेन्टको नियम अनुसार सञ्चालन हुने र प्रतियोगितामा राष्ट्रिय अम्पायरहरुको निर्देशन र उपस्थिति हुने पौडेलले जानकारी दिए ।
प्रतियोगितामा विजेता तथा उपविजेताहरुलाई नगद पुरस्कारका साथै प्रत्येक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट फिल्डर, बेष्ट डिसिप्लीन टिम, सबै रनर टिमका लागि मेडल र ट्रफिको व्यवस्था गरिएको कार्यक्रम संयोजक सन्देश के.सी.ले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजक लायन्स क्लब अफ भैरहवा लुम्बिनी र सह-प्रायोजक आइडिएल डिजाइन एण्ड कन्सट्रक्शन, बज अटोमोबाइल, द एअरपोर्ट भ्यू रेष्टुरेण्ट एण्ड बार, आइक्यूआरए एजुकेशन कन्सलटेन्सी प्रा.लि.रहेको क्लबका पूर्व अध्यक्ष अरुण पन्थीले बताए । प्रतियोगिता सफल बनाउन अन्य संघ–संस्था तथा व्यवसायीहरुलाई ब्यानर स्पोन्सर गरेर प्रतियोगितालाई सफल बनाउन क्लबले आग्रह गरेको छ ।
पहिलो पटक लियो कर्पोरेटको इतिहासमा यस वर्ष डे–नाइट टुर्नामेन्ट गरी एकै दिनमा सम्पूर्ण लिग चरणको खेलहरु बिहानको ८ बजेदेखि सुरु गरी क्वार्टर फाइनल, सेमिफाइनल, फाइनल लगायत खेलहरु सोही दिनमै समापन हुने क्लबका पूर्व अध्यक्ष शार्दुल मयूर कसौधनले बताए । प्रतियोगिताको आयोजना गर्न रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोग रहने क्लबले जनाएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष दिपेश पछाई, लियो क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष सुनिल सेञ्चुरी लगायतले बोल्दै यस क्षेत्रको खेलकुदको विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताए । लियो क्लब अफ सिद्धार्थनगरका जनसम्पर्क अधिकारी आयुष अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij