
शुक्रवार , आषाढ ८, २०८१
दाङ, ७ असार ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले विपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्नका लागि जनस्तरमा नै सचेतनाको जरुरी रहेको बताएका छन् । लुम्बिनी प्रदेश सरकारको आयोजना तथा प्रदेश सुरक्षा निकायको समन्वय एवं सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त कृत्रिम अभ्यास प्रदर्शनीलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले बाढी, पहिरो डुबान र आगलागीबाट वार्षिक रुपमा ठुलो धनजनको क्षति हुने गरेकाले यसको रोकथामका लागि प्रदेश सरकारले पूर्व तयारीका कार्यक्रमहरू गरिरहेको जानकारी दिए ।
‘हिमाल, पहाड र तराई भएको नेपालको भूगोलमा सबैतिर प्राकृतिक प्रकोप हुने गरेको छ । मुख्यमन्त्री महराले भने, ‘पहाडमा पहिरो, तराईमा बाढी र डुबानले धनजनको क्षति पुर्याएको छ । आगलागी तथा अन्य प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्नका लागि राज्यको संयन्त्र सधै तयारी अवस्थामा रहनुपर्छ ।’
प्राकृतिक प्रकोपबाट सुरक्षित हुनका लागि सर्वप्रथम व्यक्ति आफै सचेत हुनुपर्ने भन्दै उनले प्राकृतिक विपद्लाई ध्यानमा नराखी निर्माण गरिएका आवास तथा वस्ती जोखिममा रहेको औंल्याए ।
यातायात, सञ्चार, उद्वार उपकरण र तालिम प्राप्त उद्वारकर्ताका कारण विपद्का बेला उद्वार कार्य गर्न सहज भएको भन्दै मुख्यमन्त्री महराले उद्वार कार्यमा खटिनेहरु सधै उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा खटिन आग्रह गरे ।
दाङको लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर शुक्रबार गरिएको विपद् कृत्रिम अभ्यास (अभ्यास हातेमालो–६) कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री दिनेश पन्थीले बाढी, पहिरो, डुबानबाट लुम्बिनी प्रदेश जोखिममा रहेको बताए ।
विपदसँग सरोकार राख्नेहरू, सुरक्षाकर्मी, स्थानीय जनसमुदायहरू र तालिमप्राप्त उद्वारकर्ताहरूको सघन सहकार्यले नै विपद्को समयमा उपयोगी हुने भन्दै मन्त्री पन्थीले सबैले हातेमालो गरेर अगाडि बढ्न सकिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मध्यपश्चिम पृतनापति उपरथी सुनिल श्रेष्ठले सामूहिक सहकार्य समन्वय, विद्यमान नीतिनियमको परिधिमा रहेर विपद्को क्षेत्रमा काम गरिने बताए । उहाँले एकीकृत विपद् कृत्रिम अभ्यासले कार्यक्षेत्रमा काम गर्दा एकरूपता आउने भन्दै स्थानीय सरकारहरूसँग सहकार्यको अपेक्षा गरे ।
विपद् व्यवस्थापन सम्बन्धी संयुक्त कृत्रिम अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले विपद्का बेला गर्नुपर्ने कार्यहरूको विभिन्न प्रदर्शनी गरेर देखाएका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकाल, स्थानीय सरकारका जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij