
शनिवार , आषाढ ९, २०८१
दाङ, ८ असार ।
लुम्बिनी प्रदेशमा हुने सडक दुर्घटना रोकथाम गरी जिउधनको सुरक्षा र क्षति न्यूनीकरणको व्यवस्थाको सम्बन्धमा लुम्बिनी प्रदेश सभा सचिवालयमा शुक्रबार संकल्प प्रस्ताव दर्ता भएको छ ।
प्रदेश सभा सदस्य निमा गिरी प्रस्तावक रहेको उक्त संकल्प प्रस्तावमा प्रदेश सभा सदस्य कृष्णा कुस्मा थारु र अम्बिका काफ्ले समर्थक रहेका छन् ।
लुम्बिनी प्रदेशमा सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता हुन आएको यो पहिलो भएको सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए । सचिवालयमा दर्ता भएको उक्त प्रस्ताव सचिव दुर्लभ कुमार पुनले सभामुखसमक्ष लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ८७ अनुसार पेश गरे । ।
सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा सम्वन्धमा प्रदेश सभा सदस्यहरुले पहिलोपटक दर्ता गराएको संकल्प प्रस्ताव प्रदेश सभाको आगामी बैठकमा पेश हुनेछ । सुरक्षित यात्रा, सुरक्षित सवारी सम्बन्धमा हाल प्रचलनमा रहेका कानूनी व्यवस्थाले पर्याप्त सम्वोधन गर्न नसकेको संकल्प प्रस्तावमा दावी गरिएको छ ।
लुम्बिनी प्रदेशभित्र सडक दुर्घटना पीडितको लागि आकस्मिक उपचार निःशुल्क उपचार व्यवस्था र दुर्घटनाको द्रुत गतिमा उद्दारको लागि आवश्यक संयन्त्रको विकास तथा दुर्घटना पीडितले आफ्नो जीवनयापन सहज तरिकारले बाँच्न सक्ने गरी क्षतिपूर्तिको व्यवस्था समेत हुनुपर्ने आवश्यकता महसुस भएकाले लुम्बिनी प्रदेशले आवश्यक कानून नीतिगत र संस्थागत व्यवस्थाको छिटो पहल गर्न लुम्बिनी प्रदेश सरकारको ध्यानकर्षण गराउन संकल्प प्रस्तावमा माग गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij