२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा एकदिने क्षेत्रगत आधारभूत फोटोग्राफी तालिम सम्पन्न

शनिवार , आषाढ ९, २०८१

भैरहवा, ८ असार ।
लुम्बिनी फोटोग्राफर संघ बुटवल, रुपन्देहीको आयोजनामा एकदिने क्षेत्रगत आधारभूत फोटोग्राफी तालिम सम्पन्न भएको छ । देवदह, तिलोत्तमा तथा भैरहवा क्षेत्रका फोटोग्राफर सदस्यहरुका लागि शनिबार भैरहवामा तालिम भएको कार्यक्रम संयोजक तथा लुम्बिनी फोटोग्राफर संघका द्वितीय उपाध्यक्ष मनोज क्षेत्रीले बताए । ३७ जनाको सहभागीता रहेको तालिममा संघका महासचिव त्रिभुवन पाण्डे, लेखा समिति संयोजक दीपक पौडेल र सदस्य पुर्ण गुरुङले सहजीकरण गर्नुभएको क्षेत्रीले जानकारी दिए ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले महासंघले फोटोग्राफरको हकहितमा काम गर्दै आएको बताए । उनले भने, ‘धेरै काम गर्न बाँकी छ । फोटोग्राफीको गरिमा र महत्व जनजनमा पुर्याउनु छ ।’  उनले आफूले जानेका कुरा अरुलाई सिकाउनुपर्ने र यसरी सिकाउँदा आफू भन्दा अरुले बढी सिक्छ भन्ने सोच नराख्न आग्रह गरे । 

त्यस्तै लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष दिनेश अर्यालले संघको वार्षिक कार्ययोजना अनुसार फोटोग्राफी तालिम सञ्चालन गरिएको बताए । उनले भने, ‘यो तालिमले भाइचाराको सम्बन्ध स्थापित गर्न सहयोग पुर्याउँछ । ’ शनिबार नै सैनामैना नगरपालिकामा पनि फोटोग्राफी तालिम सञ्चालन गरिएको बताए ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संघका प्रथम उपाध्यक्ष माधव प्रसाद पन्थले संघले वार्षिक कार्ययोजना अनुसार तालिम, प्रतियोगितालगायत विभिन्न कार्यक्रम आयोजना गर्ने बताए । उनले संघले सामाजिक कार्यहरु पनि गर्दै आएको बताए ।

अग्रज फोटोग्राफर धनपति न्यौपानेले विगतमा फोटोग्राफी सिकाउने मान्छेको समेत अभाव हुने गरेको स्मरण गर्दै अहिले भने समय फेरिएको बताए ।

लुम्बिनी फोटोग्राफर संघकी सह–सचिव गीता पंगेनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तालिममा धेरै कुरा सिक्न पाइएकोले निकै उपलब्धीमूलक भएको लुम्बिनी फोटोग्राफर संघका कार्यसमिति सदस्य विजय यादवले बताए ।