२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

लुम्बिनीका मुख्यमन्त्री महराले गृह जिल्ला रोल्पामा रोपे धान

शनिवार , आषाढ १६, २०८१

रोल्पा, १५ असार ।  
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो गृह जिल्ला रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ५ काभ्रामा पुगेर २१ औं राष्ट्रिय धान दिवस मनाएका छन् । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औं राष्ट्रिय धान दिवसलाई व्यवहारमा लागू गर्नका लागि रोल्पाबाट प्रदेशवासीलाई सन्देश दिएको उनको सचिवालयले जनाएको छ ।

रोल्पाका  कृषकहरुसँगै खेतमा धान रोपाई गरी मुख्यमन्त्री महराले १५ असारलाई कृषि क्षेत्रको विशेष दिनका रुपमा मनाएका हुन् । ‘जनआकांक्षा पुरा गर्ने हाम्रो संकल्प : दिगो विकास र सुशासन मात्र विकल्प’ भन्ने लुम्बिनी प्रदेश सरकारको नारालाई साकार पार्नका लागि कृषकहरुसँग हातेमालो गरेर सरकार अगाडि बढ्ने जमर्को गरेको उनले बताए । दिनभरीजसो स्थानीय कृषकहरुसँग खेतमा रोपाइ तथा खनजोत गरी मुख्यमन्त्री महराले राष्ट्रिय धान दिवसलाई मन्तव्यबिहीन र भाषणबिहीन बनाएका हुन् ।

उनले कृषि क्षेत्रलाई संस्थागत रुपमा अगाडि बढाउन नीतिगत रुपमा र व्यवहारमा कार्यान्वयन गर्न जरुरी भएकाले भाषण तथा वक्तव्यबाजी नगरी कार्यक्षेत्रमा खटिएर सबैले काम गर्नुपर्ने बताए । धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र कृषि क्षेत्रको विस्तारमा लुम्बिनी प्रदेश सरकारले ध्यान दिएको मुख्यमन्त्री महराको भनाइ रहेको छ ।

जलवायु अनुकूलित प्रविधिहरूको प्रसार, जैविक विविधताको उपयोग गरी पोषणयुक्त धानका उच्च उत्पादन दिने जातहरूको विकास तथा उत्पादनमा कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत् धान बालीको उत्पादन बढाउने रणनीतिमा ्कृषकहरु लाग्नुपर्ने उनले सुझाव दिए ।

7.JPG

धानबालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराइ उत्पादनमा वृद्धि गरी धान चामलको आयात प्रतिस्थापनमा सहयोग पुर्याउनमा सरकार र कृषकहरुले सहकार्य गर्नुपर्ने मुख्यमन्त्री महरा बताउँछन् ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ५ काभ्रामा भएको २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकी, पूर्वअध्यक्ष गुणेन्द्र घर्ती र पूर्वउपाध्यक्ष बागमती क्षत्रीनी, वडाअध्यक्षहरु, वडासदस्यहरु, स्थानीय कृषकहरु र स्थानीयहरु सहभागी थिए ।

सहभागी सबैले धानबालीको उत्पादन र उत्पादकत्व वृद्धिमार्फत् समृद्ध अर्थतन्त्र निर्माणमा हामी सबैको ठोस योगदान गर्नुपर्ने भन्दै खेतमा घनजोत तथा रोपाई गरेर कार्यक्रम समापन गरिएको थियो ।

11.JPG
10.JPG