
आइतवार , आषाढ १७, २०८१
भैरहवा, १६ असार । सामाजिक क्षेत्रमा क्रियाशील रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले अर्घाखाँचीको एक विद्यालयका विद्यार्थीहरुलाई झोला र चप्पल वितरण गरेको छ । क्लबका वर्ष २०२३/२४ का अध्यक्ष रामबहादुर कोइरीको अन्तर्गत कार्यकालको अन्तिम दिन क्लबले अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ स्थित श्री दरबारे आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको हो ।
रोटरीले उक्त विद्यालयका विद्यार्थीहरुलाई १ सय थान स्कुल झोला (ब्याग) र ३५ जोडी चप्पल हस्तान्तरण गरेको अध्यक्ष कोइरीले जानकारी दिए । सोही अवसरमा सोही गाउँमा दाउरा काट्ने बेला रुखदेखि खसेर घाइते भएका द्रोण बेल्वासेको उपचारार्थ र उनको बच्चाकोे पढाइमा सहयोग पुगोस् भन्दै १५ हजार १ सय २० रुपैयाँ समेत प्रदान गरिएको क्लबले जनाएको छ ।
विद्यालयका प्राचार्य खगिश्वर घिमिरे तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र पौडेलले गरीब परिवारका विद्यार्थीहरुलाई सहयोग गरेर रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले धेरै काम गरेको भन्दै प्रशंसा गरे । उनीहरुले यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
त्यस्तै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष राम बहादुर कोइरीले आफ्नो कार्यकालको अन्तिम दिन दुर्गम गाउँको विद्यालयलाई केही सहयोग गर्न पाउँदा खुसीको अनुभुति भएको बताए ।
क्लबका सचिव गंगाधर भण्डारीले आफ्नै पैतृक गाउँमा गरिएको यस मानवीय कार्यलाई सहयोग पुर्याउने सम्पूर्ण क्लब परिवारलाई धन्यवाद दिए ।
कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ का असिस्टेन्ट गभर्नर जमुना पौडेल, हिरा बहादुर शाह, डिष्ट्रिक्ट ज्वाइन्ट सेक्रेटरी कृष्ण प्रसाद पाण्डे, पूर्वअध्यक्ष प्रेम शर्मा लोहनी, प्रेसिडेन्ट वर्ष २०२४/२५ का अध्यक्ष प्रियाबन्धु न्यौपाने लगायत १५ जना रोटरीयन सदस्यको उपस्थिति थियो ।
त्यस्तै क्लबको ज्वाइन्ट क्लब असेम्बली नरपानी रिसोर्टमा सम्पन्न भयेको थियो । असेम्बलीमा क्लबका २०२४÷०२५ अध्यक्ष प्रिया बन्धु न्यौपानेले आगामी वर्षको कार्ययोजना पेश गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij