२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विद्यालयहरुमा शिक्षा समन्वय इकाईको अनुगमन

आइतवार , आषाढ १७, २०८१

भैरहवा, १६ असार । शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले विभिन्न विद्यालयको अनुगमन गरेको छ । शिक्षण सिकाई कार्यको अवलोकन गरी पृष्ठपोषण प्रदान गर्ने तथा शिक्षकलाई पेशागत सहायता प्रसाद गर्ने उद्देश्यले विद्यालय अनुगमनलाई तीव्रता दिएको कार्यालयले जनाएको छ । 

कार्यालयले सुरुवात गरेको अनुगमनका क्रममा विषय विज्ञ शिक्षकले कक्षा अवलोकन तथा शिक्षण विधिका विषयमा छलफल गरी सिकाई आदान प्रदान गर्ने गरिएको समन्वय इकाई प्रमुख उपसचिव माधव बन्जाडेले जानकारी दिए । 

IMG_9753.JPG

कार्यालयले आइतबार बुटवलको नयाँगाउँ मावि र सैनामैनाको रामापुर माविको अनुगमन गरेको प्रमुख बन्जाडेले जानकारी दिए ।  उनले स्थानीय तहबाट विद्यालयहरुमा अनुगमनको काममा सुस्तता आएको गुनासो बढेपछि समन्वय इकाईले अनुगमनलाई चुस्त बनाएको बताए । अनुगमन समितिले विद्यालयको व्यवस्थापकीय पक्षको समेत अवलोकन गर्ने गरेको छ । 

 बन्जाडेले बुटवलको नयाँगाउँ माविको शिक्षण सिकाईदेखि विद्यालयको व्यवस्थापकीय पक्ष समेत उत्कृष्ट रहेको उल्लेख गरे । उनले विद्यालयको सरसफाई लगायत आधारभूत कुराहरु पनि उत्कृष्ट रहेको बताउँदै शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउदै रुपन्देहीका उत्कृष्ट विद्यालयको सूचीमा आफूलाई कायम राख्न आग्रह गरे ।   
कार्यालयले रुपन्देहीका १६ वटै स्थानीय तहका विद्यालयहरु छनौट गरी अनुगमन गर्ने जनाएको छ । 

समन्वय इकाईको अनुगमनलाई विद्यालयको शैक्षिक सुधारका लागि थप हौसला मिलेको नयाँ गाउँ माविका प्राधानाध्यापक पुरुषोत्तम भट्टराईले जानकारी दिए । नयाँ गाउँ माविले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा ७० प्रतिशत नतिजा हासिल गर्न सफल भएको उल्लेख गरे ।