
सोमवार , आषाढ १८, २०८१
भैरहवा, १७ असार । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न सक्ने प्रयाप्त आधार भएको दावी गरेका छन् । उनले विमानस्थललाई हेरर निजी क्षेत्रले धेरै लगानी गरेको र पीडामा रहेकोले त्यो पीडा अस्थायी रहने विश्वास व्यक्त गरे ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थलमा सोमबार आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् । उनले यो विमानस्थल राम्रोसँग गरी चल्ने र राम्रो मुनाफा दिने गरी चल्ने विश्वास व्यक्त गरे ।
विमानस्थल छोटो अवधिमै राम्रोसँग सञ्चालन हुन सक्ने उनको भनाइ छ । यो विमानस्थल चल्न नसके विकासप्रति नकारात्मक भाष्य सिर्जना हुने जोखिम रहेको पौडेलले बताए । अब कुनै प्रकारको ढिलासुस्ती र विलम्ब गर्न नहुने भन्दै सार्वजनिक लेखा समितिले पहलकदमी लिनु सराहनीय रहेको उनले बताए ।
उनले भने, ‘यो विमानस्थल सरकारको कार्यसूचीमा परेन । कुन मोडालिटीमा चलाउने, कसरी सञ्चालन गर्ने, के कस्ता इन्सेन्टीभस् दिने र कस्ता विशेष प्याकेज ल्याउने भन्नेबारे सरकारको प्राथमिकताको कार्यसूचीमा पर्न सकेन । ’ पौडेलले विमानस्थल चलाउन सुरुदेखि हुनुपर्ने पहलकदमी हुन नसकेको बताए । विमानस्थलको निर्माण प्रक्रिया सुरुदेखि नै सञ्चालनको तयारी गर्नुपर्दथ्यो, उनले भने । उनले प्रधानमन्त्री, मन्त्रीहरु, मन्त्रालयका सचिव, नेपाल नागरिक उड्ययन प्राधिकरणलगायतको उपस्थितिमा बैठक आयोजना गर्नुपर्नेमा जोड दिए । विमानस्थल सञ्चालनका लागि नेपालले रुट पाउनुपर्ने र यसमा छिमेकी राष्ट्रले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
नेकपा (एमाले) का उपाध्यक्ष समेत रहेका पौडेलले लुम्बिनीमा विमानस्थल बन्न सक्छ भन्ने तथ्य पुष्टि भएको बताए । उनले भने, ‘त्यतिबेला यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने कोशिष पनि भएको थियो ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुगमनका लागि नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा ८ सदस्यीय उपसमिति गठन गरिएको छ । कार्यक्रममा बोल्दै भट्टराईले निजी क्षेत्रको चिन्ता र पीडा आफूहरुले महसुस गरेको बताए । उनले भने, ‘विमानस्थल पूर्ण क्षमतामा चलोस्, व्यवसायी अगाडि बढोस्, पर्यटन क्षेत्रको विकास होस् भन्ने चाहना छ, यहाँहरुले चिन्ता व्यक्त गर्नुभएको छ, त्यसमा जानकार छौं ।’
पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराईले विमानस्थल सञ्चालनमा आएपछि केही अन्तर्राष्ट्रिय उडानले आशा जगाए पनि ती वायुसेवा कम्पनीले पछि आफ्नो उडान स्थगित गरेको बताए ।
पूर्व राज्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले विमानस्थल बनाउनेतर्फ मात्र ध्यान दिइएको तर चलाउन ध्यान नदिइएको बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले लुम्बिनीको विकाससँगै बुद्धसँग सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास हुनुपर्नेमा जोड दिए ।
रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले विमानस्थल कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने कुरा मिति तोकेर जानुपर्ने बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थल किन चलेन र कहिलेदेखि चल्छ भन्ने प्रश्न बन्द हुने कामना गरे ।
‘विमानस्थल नचल्दा निजी क्षेत्रको अवस्था दयनीय’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले मुलुकमा संघीयता आइसकेपछि पनि नागरिकले प्रदेश सरकारको अनुभति गर्न नसकेको बताए । उनले विमानस्थलमा सरकारले ४० अर्ब र निजी क्षेत्रले विमानस्थललाई हेरेर ८० अर्ब लगानी गरे पनि विमानस्थल सञ्चालनमा नआउँदा आफूहरु मर्कामा परेको बताए ।
सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले सरकारले चाहे विमानस्थल चल्ने दावी गरे । उनले निजी क्षेत्र दयनीय अवस्थामा रहेको बताए ।
सोट्टो लुम्बिनी प्रदेशका अध्यक्ष संजय बजियमले विमानस्थल सञ्चालनका निम्ति हवाई रुटका लागि छिमेकी राष्ट्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।
नाट्टा लुम्बिनी प्रदेशकी अध्यक्ष रचना पन्तले वैदेशिक रोजगारीमा जाने अत्याधिक श्रमिकलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाटै सहज हुने बताइन् ।
नाट्टा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर) ले सरकारको कारण निजी क्षेत्र पीडित भएको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले यहाँका व्यवसायी अत्यन्तै पीडामा रहेको बताए ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले विमानस्थल सञ्चालन नहुने भए किन निर्माण गरियो भन्दै प्रश्न गरे ।
लुम्बिनी होटल संघ, नेपालका महासचिव पुरुषोत्तम अर्यालले लुम्बिनीको विकास बिना विमानस्थल चल्न नसक्ने दावी गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij