२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एसईई उत्तीर्ण विद्यार्थीहरुलाई काशीमा सम्मान

सोमवार , आषाढ १८, २०८१

भैरहवा, १७ असार ।

काशी नोबल एकेडेमी सिद्धार्थनगर–१२, रुपन्देहीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले आइतबार भैरहवामा एक कार्यक्रमकाबीच २०८० सालको एसईई परीक्षामा विद्यालयबाट सहभागी भइ उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले काशी नोबल एकेडेमी इतिहास बोकेको विद्यालय भएको बताए । उनले एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीहरु हरेक वर्ष उत्कृष्ट अंकसहित एसईई उत्तीर्ण हुँदै आएको बताए । उनले विद्यालयबाट हालसम्म १ हजार २ सय ५१ जना विद्यार्थीहरुले एसएलसी÷एसईई उत्तीर्ण गरिसकेको जानकारी दिए । उनले भने, ‘यस क्षेत्रको शैक्षिक विकासमा काशी नोबल एकेडेमीले उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।’

एसईईमा सृदिमा पन्तले ३.९६ जीपीए, दृष्टान्त रेग्मीले ३.९१ जिपिएसहित ११३ जना विद्यार्थीहरुले उत्कृष्ट नतिजा प्राप्त गरी विद्यालयको गरिमा उच्च बनाउन सफल भएको विद्यालयका सहायक प्राचार्य श्री रायमाझीले बताए ।

एकेडेमी सञ्चालक समिति अध्यक्ष ओम जैसीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रिय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले विद्यार्थीहरुलाई सम्मानपत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले एसईईको नतिजापछि अब शैक्षिक यात्रा नजिक, तथा पायक पर्ने, अभिभावकको नजरभित्र पर्ने र विद्यार्थीहरु आफ्नो रुची भएको विषयमा अध्ययन गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेल, सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष बसन्त पाण्डे, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष कुमार गुरुङ, श्री रुपन्देही लीलाराम न्यौपाने माविका प्रध्यानाध्यापक रुप कुमार रायमाझी लगायतले भनाइ राखेका थिए ।