
मंगलवार , आषाढ १९, २०८१
काठमाडौं, १८ असार । नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाउने प्रयास अस्वाभाविक भएको भन्दै प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले रातारात नयाँ गठबन्धन बनाउने कुरा अप्राकृतिक र अस्वभाविक रहेको भन्दैै प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको हो । कुनै दलले समर्थन फिर्ता लिएपछि पनि विश्वासको मतका लागि एक महिना समय रहने भएकाले तत्कालै प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय भएको माओवादी सचिव देवेन्द्र पौडेलले बताए ।
उनले प्रधानमन्त्रीसंगको भेटमा एमाले अध्यक्ष केपी ओलीले एउटा कुरा गरेको र कांग्रेससंग अर्को छलफल गरेको आरोप लगाए । उनले संसद फेस गरेर विश्वासको मत लिने गरेर अघि बढ्ने र यसका लागि कांग्रेस, एमाले र रास्वपा लगाएतका दलहरुसंग छलफल गर्ने जिकिर गरे । एमालेको कदम षडयन्त्र भएकाले प्रतिवाद नै गर्ने उनको भनाइ छ ।
सचिव पौडेलले लोकतन्त्रलाई संस्थागत गर्नका लागि माओवादीले पहल गर्ने बताए । संविधान संशोधन गर्ने बिषयमा पार्टीले बुझ्न बाँकी रहेको भन्दै उनले पछिल्लो परिवर्तन उल्टाउने खेल भइरहेको हो की भन्ने आशंका रहेको जिकिर गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij