
बुधवार , आषाढ २०, २०८१
भैरहवा, १९ असार ।
रुपन्देहीको रोहिणी गाउँपालिका-३ स्थित रोहिणी खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका अन्दाजी १८/१९ वर्षिय युवकको खोजी कार्य जारी छ । गत असार १७ गते सोमबार बिहान साढे ११ बजे खोलामा नुहाउने क्रममा मकवानपुरको राक्सिराङ्ग गाउँपालिका –८ का सागर प्रजा डुबेर बेपत्ता भएका थिए ।
नेपाल आयल निगमको निर्माणाधिन पर्खालमा काम गर्दै आएका प्रजाको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे,क्वा, रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम पाण्डेले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देही र रोहिणी गाउँपालिकाको विशेष पहलमा बेपत्ता भएका युवकको खोजीमा सशस्त्र प्रहरी बल, नेपाल नं। ४२ रिजर्भ हे.क्वा. शम्सेरगंज, बाँकेबाट सशस्त्र प्रहरी नायव निरीक्षक टेक प्रसाद आचार्यको कमाण्डमा ९ जनाको गोताखोर तालिमप्राप्त टोली खटिएको छ ।
‘विगत ३ दिनदेखि सरोकारवाला सुरक्षा निकायहरु, स्थानीय बासिन्दा र अन्य संघ–संस्थाहरु समेतको संयुक्त पहलमा खोजी कार्य जारी छ । तर, हालसम्म पनि बेपत्ता व्यक्ति फेला परेका छैनन्, ’डीएसपी पाण्डेले भने । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा,, रुपन्देहीले युवकको खोजीका लागि समकक्षी भारतीय सुरक्षाकर्मी तथा सरोकारवाला निकायहरुसँग पनि समन्वय गरिरहेको उनले बताए ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले मनसुन सक्रिय भइ भारी वर्षा भइरहेकोले सचेत रहन आग्रह गरे । उनले बेपत्ता युवकको खोजीमा लाग्ने नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सम्पूर्ण टीमलाई धन्यवाद दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij