२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवा सेज : उत्साहभन्दा बढी पीडा

बिहिवार , आषाढ २१, २०८१

भैरहवा, २० असार । 
निजी क्षेत्रलाई प्रोत्साहन तथा निर्यात वृद्धि गर्दै व्यापार घाटा कम गर्ने उद्देश्यले रुपन्देहीको भैरहवामा स्थापना गरिएको विषेश आर्थिक क्षेत्र (सेज) मा उत्साहभन्दा पीडा भोग्नुपरेको उद्योगी–व्यवसायीहरुले गुनासो गरेका छन् । सरकारले विभिन्न आश्वासन दिएर सेजभित्र उद्योग दर्ताको आह्वान गरे पनि विद्युत, खानेपानीको व्यवस्थापन, सुरक्षा, महंगो भाडादर लगायत विभिन्न समस्याहरुका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको उनीहरुको गुनासो छ । 

२०५८ सालमा स्थापना गरिएको सेजको हालसम्म तीनपटक उद्घाटन गरिएको छ । सेजको वेवसाईटका अनुसार स्थापनाको २२ वर्षमा हाल सेजभित्र जम्मा ७ वटा उद्योगहरु सञ्चालनमा छन् । १४ वटा उद्योगले सञ्चालनका लागि अनुमति लिए पनि विभिन्न कारणले ७ वटा उद्योगको लाईसेन्स रद्द गरिएको छ । हाल यहाँ शक्ति मिनिरल, ग्लोबल विस्तार, व्रिलियन्ट लाईटिङ, पञ्चकन्या एसएस एक्सपर्ट, एस प्लोयमर्स, जय बुद्ध मेटल र तिरुपति प्रालि भैरहवा सेजभित्र सञ्चालनमा रहेका छन् ।

सरकारको अस्पष्ट उद्योग नीति, कच्चा पदार्थमा उच्च भन्सार दर, बैंकको उच्च ब्याजदर लगायतका कारण निजी क्षेत्र निराश हुँदै गएको उद्योगी अजयमान श्रेष्ठको गुनासो छ । २२ वर्ष पहिला स्थापना गरिएको सेजको पुर्नमुल्यांकन गर्नुपर्ने बताउँदै उनले सरकारले प्रतिवद्धता अनुसार आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने औल्याए । सेजभित्र उद्योग स्थापनादेखि नै विभिन्न कानूनी उल्झन तथा पीडाहरु भोग्नुपरेको श्रेष्ठले अनुभव सुनाए । 

विषेश आर्थिक क्षेत्र भित्र उद्योग स्थापना तथा सञ्चालन र प्रर्वद्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै श्रेष्ठले निजी क्षेत्रको समस्याबारे उल्लेख गरेका हुन् । बजेट बनाउँदा आवश्यकताको पहिचान गर्न नसक्नु, बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरुको पहुँच रहनु, बैंकको उच्च ब्याजदर, उत्पादनमा ध्यान नजानु, एउटै व्यक्ति बैंक तथा उद्योग दोहोरो भूमिकामा रहनु, उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा भन्सार शुल्क बढी हुनु, छुट प्रक्रिया झण्झटिलो हुनु लगायतका कारणले उद्योगीहरुको मनोबल घट्दै गएको उनले बताए । सरकारले आयातलाई प्रतिस्थापन गर्ने उत्पादनलाई प्राथमिकतामा राखेर सहुलियत प्रदान गर्नुपर्ने उनको सुझाव छ ।

एक तथ्यांक प्रस्तुत गर्दै श्रेष्ठले जेष्ठ मसान्तभित्र २ सय ५० उद्योगहरु बन्द भएको उनले बताए । राजनीतक अस्थिरता, रेमिट्यान्स निर्भर सोच र उद्योगमैत्री वातावरण नहुँदा नयाँ उद्योग दर्ता हुने क्रम पनि घट्दै गइरहेको उल्लेख गरे । ‘६० को दशकमा देशको जीडिपीमा उद्योगको योगदान १६.८ प्रतिशत रहेकोमा ७० को दशकमा १३ प्रतिशत हँदै अहिले आएर जम्मा ५ प्रतिशतमा खुम्चिनु राज्यकै लागि दुःखद हो ।’–श्रेष्ठले भने । ठूला छिमेकी मुलुक चीन र भारतमा देशको कुल जिडिपीमा क्रमश ४४ र २२.७३ प्रतिशत योगदान रहँदा नेपाल आयातमुखी हुँदै गएको पुष्टी हुने उनले बताए । देशभर रहेका ६० हजार १ सय ८५ सानाठूला उद्योगहरु सबै दयनीय अवस्थामा रहेको उनले बताए । सेजभित्रका उद्योगको पनि अवस्था उस्तै रहेको छ श्रेष्ठले उल्लेख गरे । 

सेजभित्र उद्योग सञ्चालन गरिरहेका पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले उद्योग सञ्चालन गर्न निकै कठिन भएको गुनासो गरे । पञ्चकन्या स्टिल उद्योग सञ्चालन गर्दै आएको समूहले विद्युतको समस्या, महंगो भाडादर, उचित व्यवस्थापनको अभाव आदि कारणले उद्योग बन्द गर्न चाहेको बताए । सेजमा प्रवेश गर्दा धेरै उत्साह रहे पनि सुरुवातदेखि अहिलेसम्म भोग्नुपरेका समस्याका कारण उद्योग बाहिर सार्ने मनस्थितिमा पुगेको महाप्रबन्धक साहुले गुनासो गरे । सेजको ऐन अस्पष्ट हुँदा साना भन्दा साना समस्याहरु समेत उद्योग सञ्चालनमा बाधक बनेको उनको भनाइ छ ।

IMG_6204.JPG

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले विशेष आर्थिक क्षेत्र (सेज) र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यस क्षेत्रका विकासका आधार भए पनि दुवै सञ्चालन हुन नसक्दा उद्योगी व्यवसायीहरु निराश हुनुपरेको बताए । २०५८ सालमा स्थापना भएको सेज अहिले पनि उस्तै अवस्थामा रहनु दुर्भाग्य भएको उल्लेख गरे । ‘नीति निर्माण गर्ने व्यक्तिहरुले उद्योगको विषयमा अध्ययन गर्न जरुरी छ ।’–अध्यक्ष श्रेष्ठले भने । 

शक्ति मिनिरलका जीएम दीपक कुमार झाले सेजभित्र उद्योग स्थापना गर्नु बाहिरको तुलनामा कुनै सहुलियत नपाएको बताए । सेज आफैमा स्वायत्त रहे पनि कागजी प्रक्रियामा स्थानीय तहदेखि मन्त्रालयसम्म पटकपटक धाउनुपर्ने बाध्यता रहेको उनले गुनासो गरे । 

उद्योगी केशव भट्टराईले विशेष आर्थिक क्षेत्र भनिए पनि भन्सार तथा आन्तरिक राजस्व कार्यालयमा दोहोरो करको मारमा परेको गुनासो गरे । सेजसम्बन्धी ऐन कानून अस्पष्ट भएका कारण उद्योगीले चारैतिर धाउनुपर्ने बाध्यता रहेको उनले बताए । ‘जबसम्म सेजमा उद्योग स्थापना गर्नका लागि सबै सुविधाहरु सेजबाटै उपलब्ध गर्न सकिदैन । तबसम्म यसप्रति उद्योगीहरुको आर्कषण हुँदैन, बुकिङ गरेका प्लट पनि सेजलाई फिर्ता गर्ने अवस्था आउँछ ।’–भट्टराईले भने । 

सेज व्यवस्थापन पक्षले सुरक्षा तथा फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साईडको तत्काल व्यवस्था गर्नुपर्ने उद्योगी रोज कंडेलको सुझाव छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक तुल्सीराम मरासिनीले उद्योगीहरुको समस्या सुनेपछि यहाँबाट हुन सक्ने सानातिना समस्याको तत्काल सुधार गर्ने प्रतिवद्धता जनाए । सबै समस्याहरुलाई लिपिबद्ध गरेर समितिमा पेश गरी समाधानको लागि पहल गर्ने समेत उनले उद्योगीलाई आश्वासन दिए । ‘अबका दिनमा सेजप्रति उद्योगीहरुको आर्कषण बढ्ने गरी सुधारका कामहरु अगाडि बढाउनेछौं ।’–निर्देशक मरासिनीले भने । 

त्यस्तै राष्ट्रिय योजना आयोगका सह–सचिव हेमराज सुवेदीले समस्याहरु समाधानका लागि आफ्नो तर्फबाट सहजीकरण गर्ने प्रतिवद्धता गरे । उद्योगीका समस्या लिपिबद्ध गरेर उद्योग मन्त्रालयमा पठाउन उनले सुझाव दिए । '

IMG_6195.JPG

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले सेज स्थापना गर्नुको उद्देश्य स्पष्ट हुनुपर्ने, उत्पादनमा प्रतिष्पर्धा ल्याउने नीति अवलम्बन गर्नुपर्ने र उद्योगको विकासमा राजनीतिक नेतृत्वको प्रतिवद्धता आवश्यक हुने बताए । सेज सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने सहजीकरणमा आफूहरु तत्पर रहेको उनले बताए ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले भन्सारसँग सम्बन्धित समस्याहरु समाधानका लागि नीतिगत र व्यवहारिक समस्याको पहिचान गरी समाधानका लागि पहल गर्ने बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले अरर्बौं लगानी गरेर सेज जस्ता विकासका पूर्वाधार निर्माण गर्दा जनताको स्वास्थ्य, वातावरण र पर्यावरणमा बारेमा समेत ध्यान दिनुपर्ने सुझाव दिए । फोहोरमैला व्यवस्थापनको उचित प्रबन्ध गर्न उनले सेजलाई आग्रह गरे ।