
बिहिवार , आषाढ २१, २०८१
बुटवल, २० असार । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सधै स्वतन्त्र र स्वाभिमानी रहेकोले कुनै पनि मुलुकका सामु कहिल्यै झुक्न नपरेको बताए । बिहीबार पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देहीले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै भूगोलमा सानो भए पनि स्वाभिमानमा देश सधै उचो रहेको बताए ।
‘विश्वका धेरै मुलुकले स्वतन्त्रता दिवस मनाइरहेका हुन्छन्, हामीसँग स्वतन्त्रता दिवस छैन, सधै स्वतन्त्र भयौ कहिले कसैको दास भएनौ, हामीसँग त्यो दिवस नै छैन । यो गर्वको विषय हो । ती पूर्वजका सन्तान हौ । त्यसैले हामीले केही गरेर देखाउँछौ भन्ने हिम्मत छ,’ उनले भने, ’मौका पायो कि नेपालीले गर्छ, त्यस्तो पुर्खाका सन्तान हौ, पूर्वज आविष्कारक थिए, धेरै खोज गरेका थिए, त्यसैको बलमा अहिले हामी बलियो बनेका हाैं, सफलता त्यसको जगमा छौँ ।’
नेता ओलीले आफू सफलतामा खुसी साट्न आएको बताए । सफलतामा खुसी साट्न आएको हुँ, सफलताको सुरुवात मात्रै हो, सफलता पाउन इमान्दार प्रयास हुनुपर्छ, इमानदारीताले सफलता खोज्छ, यो जुनसुकै क्षेत्रमा यो प्रयोग हुन्छ,’ उनले भने, ‘पहिले आफूलाई चिन्नुपर्छ, ज्ञानको सुरुवात यहीबाट भएको धेरै प्रमाण छन्, अनेक कुराका ज्ञान यहीँबाट सुरु भएका हुन् ।’
उनले नेपालमा भएका धेरै अनुसन्धानले विश्वमा बजार पाउन नसकेको सुनाए । ’हामीले आविष्कार गरेका विषय प्रचारमा नआएका हुन्, धेरै जेनेटिक मेमोरी छ । देश सानो भएर केही हुँदैन । प्रतिभा प्रस्फुटन हुन नपाएको धेरै छ । अब यसलाई अगाडि बढाउनुपर्छ’ उनले भने ।
उनले एसईईको पूरक परीक्षा दिने विद्यार्थीहरूलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने बताएका छन् ।
अबको केही दिनभित्रै विषय विज्ञ शिक्षकहरूबाट मुख्य विषयहरूको अनलाइन कक्षा सञ्चालन गर्ने बताए ।
‘मुख्य गरी अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा धेरै विद्यार्थीहरू एसईई परीक्षामा अनुत्तीर्ण हुनुभएको छ, अहिले अनुत्तीर्ण भए पनि पूरक परीक्षामा पास बनाउने गरी हामीले निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्दै छौँ त्यसमा जोडिन सबै विद्यार्थीहरूलाई मेरो आग्रह छ’ ओलीले भने ।
उनले फेल भएका विद्यार्थीहरूलाई मौका परीक्षामा राम्रो तयारी गरेर सहभागी हुन आग्रह गरे । ‘अझै पनि केही बिग्रिएको छैन मौका परीक्षा आउन एक महिना समय बाँकी छ, यो समयमा राम्रो तयारी गरेर पास हुने गरी परीक्षा दिनुभयो अहिले पास भएका विद्यार्थीसँगै पढ्न पाउनुहुने छ त्यसको लागि तयारी राम्रो गर्नुपर्यो,’ उनले भने ।
२०८० चैत १५ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा ननग्रेडमा परेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि २९ गतेसम्म पूरक परीक्षा तोकेको छ ।
सोही परीक्षालाई लक्षित गरेर फेसबुक पेज र अनलाइनमार्फत निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको ओलीले बताए । उनले शिक्षकहरूमा आफूभित्र भएको ज्ञानसमेत प्रदान गर्ने सीप नहुँदा धेरै विद्यार्थीहरू फेल भएको उनले बताए । ‘अब शिक्षकहरूमा भएको ज्ञानलाई विद्यार्थीले बुझ्ने गरी प्रदान गर्ने सीप बढाउनुपर्छ,’ ओलीले भने ।
अनेरास्ववियूले एसइई परीक्षामा जिपिए ४ ल्याएर उत्तीर्ण भएका रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ स्थित रामापुर माध्यमिक विद्यालयका विद्यार्थी कृत्रिम भट्टराई र बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसँगै रुपन्देहीका सामुदायिक विद्यालयबाट ए प्लस ल्याएर उत्तीर्ण भएका एक हजार २८ जना विद्यार्थीलाई सम्मान गरेको हो ।
कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायतले विद्यार्थी सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई उत्प्रेरणा थपेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij