
शुक्रवार , आषाढ २२, २०८१
भैरहवा, २१ असार ।
नेपाल रेडक्रस सोसाईटी बेलहिया उप–शाखाले तीनमहिने बालकको उपचारका लागि सहयोग गरेको छ । उप–शाखाले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ की प्रभा थापाको छोराको उपचारका लागि नगद ६९ हजार ५५ रुपैयाँ सहयोग गरेको हो ।
बिहीबार नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखा सिद्धार्थनगरमा आयोजित नगद हस्तान्तरण कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तथा रेडक्रस बेलहिया उप–शाखाका सचिव माधव शर्माले बताए । उनले संस्थाका आजीवन सदस्यहरु र अन्य व्यक्तित्वहरुबाट संकलित रकम हस्तान्तरण गरिएको जानकारी दिए । भारतमा उपचार भइरहेका बालकको उपचार खर्च करिब २५ लाख भारु लाग्ने उनले बताए ।
यसअघि रेडक्रस रुपन्देही जिल्ला शाखा कार्यालयमा समेत कार्यरत प्रभा थापाका अनुसार उनको छोरालाई बिलीरी एट्रेसिया नामक रोग लागेको । उक्त रोगको उपचारका लागि कलेजो प्रत्यारोपण गर्नुपर्ने र यसको उपचार खर्च महंगो रहेकोले उनले सहयोग गर्न सबैसँग आग्रह गरेकी छन् ।
हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिदै उनले प्रभा थापाको नाममा राष्ट्रिय वाणिज्य बैंक, भैरहवा शाखामा रहेको खाता नम्बर ३०८०१०००९५६४८०१० मा रकम जम्मा गर्न सकिने जानकारी दिइन् । उनले आफ्नो सम्पर्क नम्बर ९८६७५८४४१४ मा फोन गरेर पनि सहयोग रकम प्रदान गर्न सकिने बताइन् ।
नगद हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले बेलहिया उप–शाखाले साहस र हिम्मतका साथ रकम संकलन गरेर हस्तान्तरण गरेको भन्दै धन्यवाद दिए । उनले रेडक्रस रुपन्देही जिल्ला कार्यसमितिको बैठकले बालकको उपचारका लागि ५१ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको बताए । उनले भने, ‘उपचार निकै महंगो छ । यसरी विभिन्न संघ–संस्थाको सहयोगले पीडित परिवारलाई राहत पुग्छ । म बाबुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
रेडक्रस बेलहिया उप–शाखाका सभापति राकेश गुरुङले बालकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी पाएपछि केही सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले रकम संकलन गरेर हस्तान्तरण गरिएको बताए । पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकोले बालकको उपचारमा सहयोग गर्न उनले सबैलाई आग्रह गरे ।
रेडक्रस बेलहिया उप–शाखाका उपसचिव ऋषिराम पाण्डेयको सञ्चालनमा सम्पन्न कार्यक्रममा रेडक्रस रुपन्देही जिल्ला कोषाध्यक्ष सुशील गुरुङ, जिल्ला सदस्य टेक बहादुर थापा, बेलहिया उप–शाखाका निवर्तमान अध्यक्ष सुमन शर्मा, पूर्वअध्यक्ष देवराज न्यौपानेलगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा रेडक्रस सोसाईटी रुपन्देही शाखाले प्रभा थापालाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij