
शुक्रवार , आषाढ २२, २०८१
दाङ, २१ असार ।
संघीय सरकारमा देखिएको राजनीति हलचलले प्रदेशहरुलाई पनि असर पुर्याएको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोख बहादुर महराले बताएका छन् ।
आफूहरुले परिकल्पना गरेको संघीयतालाई संस्थागत गर्न पार्टीहरुले नसकेको उनको धारणा छ ।
संघीय सरकारमा नेकपा (एमाले) ले सरकारलाई दिएको सर्मथन फिर्ता लिएसँगै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि एमालेले फिर्ता लिएको छ । समर्थन फिर्तासम्गै लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले बिहीबार राती नै मुख्यमन्त्री महरालाई राजीनामा बुझाएका छन् ।
मन्त्रीहरुले दिएको राजीनामा बुझ्दै मुख्यमन्त्री महराले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि नेपालका ठूला पार्टीहरुमा संघीयता लागू हुन नसक्दा केन्द्रमा देखिने समस्याहरुले प्रदेशलाई पनि असर पुर्याएको बताए ।
संघीयतालाई संस्थागत गर्नका लागि पार्टीहरुमा पनि प्रदेश र स्थानीय तहसम्म स्वविवेक अधिकार र सरकार गठनका लागि प्रदेशलाई नै जिम्मेवारी बनाउनुपर्ने उनले सुझाव दिए ।
केन्द्रिय राजनीतिमा देखिने हलचलले प्रदेशलाई पनि असर पुर्याउनु गलत हो । मुख्यमन्त्री महराले भने,‘ हामीले संघीयता ल्याए पनि आफ्ना पार्टीहरुमा संघीयता ल्याउन असमर्थ देखिएको छौं । प्रदेशलाई संस्थागत गर्नका लागि पार्टीहरुले सोच्नुपर्ने अवस्था आएको छ । समृद्ध प्रदेशको निर्माण गर्नका लागि प्रदेशको राजनीतिक नेतृत्वले नै पहलकदमी गर्नुपर्दछ । ’
संघीय सरकारमा देखिएका समस्या संघले र प्रदेशमा देखिने समस्या प्रदेशले समाधान गर्ने परिपाटीको विकास गर्न लाग्नुपर्ने मुख्यमन्त्री महराले राजीनामा बुझाउन आएका मन्त्रीहरुलाई बताए । यसका लागि पार्टीहरुभित्र नै संघर्ष गर्नुपर्ने बेला आएको मुख्यमन्त्री उनको सुझाव छ ।
जनयुद्ध तथा जनआन्दोलनले संस्थागत गरेको संघीयताले तीन तहको सरकार निर्माण गरि समृद्ध हुने परिकल्पना गरिए पनि विभिन्न समस्याहरुले अल्झाइरहेको उनले धारणा व्यक्त गरे ।
प्रदेश सरकारको स्थापनासँगै यस्ता परिघटनाहरु देखा परेकाले प्रदेश संरचनाको औचित्व छैन भन्ने आवाजहरुले स्थान पाएको भन्दै मुख्यमन्त्री महराले यस्ता समस्याहरुलाई ब्रेक गर्नका लागि सबै तयार हुनुुपर्ने सुझाव दिए ।
‘लुम्बिनी प्रदेश सरकारमा हामी छोटो समय सँगै काम गर्ने अवसर प्राप्त गर्नासाथ धेरै जनपक्षीय कामहरु गर्न सफल भएका छौं । मुख्यमन्त्री महराले भने,‘हामीले शुरु गरेका कामहरु चालु आर्थिक बर्षको अन्त्यसम्म पुरा गर्ने दायित्व थियो । तर, राजनीतिमा देखिएको फेरबदलले पूरा गर्न सकेनौ । आगामी आर्थिक वर्षका लागि पनि हामीले सहकार्यमा ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई कार्यान्वयनका लागि कार्यविधि बनाएर अगाडी बढ्नुपर्ने थियो । त्यो गर्न नसक्नु हाम्रो बाध्यता भयो ।’
उनले भने, ‘हामी सरकारमा आएसँगै धेरै अफ्ठयारा कामहरुलाई विस्तारै सहज बनाउदै लगेको थियौँ । समितिका सभापतिहरु चयन गर्यौं । समितिका बैठकहरुलाई निरन्तरता दिएका छौं । सदनलाई यथेस्ट बिजनेस दिएको छौं ।’
निकै राम्रो वातावरणमा सरकार सञ्चालन भइरहेको अवस्थामा आएको यो हलचलले लुम्बिनी प्रदेश सरकारलाई असहजतर्फ धकलेको मुख्यमन्त्री महराले बताए ।
प्रदेशमा अहिलसम्मकै सहज, शान्त वातावरण, सबैभन्दा शालिन रुपमा मन्त्रीपरिषदका बैठकहरु बसेको उनले बताए । ‘प्रदेशका मन्त्रालयहरु सकारात्मक मार्गमा अगाडी बढिरहेका थिए । तर, हामीले पाएको जिम्मेवारी पूरा गर्न केन्द्रिय राजनीतिले समस्या सिर्जना गरेको छ, उनले भने ।
मुख्यमन्त्री महराले मन्त्रीहरुले पनि आफूले विश्वास गरे अनुसार जोश र जागरका साथ जनपक्षीय काम गरेको बताए ।
उनले भने, ‘नीति तथा कार्यक्रम त्यायौं, त्यो सहज ढंगले पास गर्यौं । जनअपेक्षा अनुसार बजेट निर्माण गर्यौ, प्रतिपक्षलाई विरोध गर्ने बातावरण नै निर्माण गरेनौ ।’ उनले भने,‘ कार्यक्षेत्रमा मन्त्री र सचिवबीचमा सकारात्मक सम्बन्ध निर्माण गरी जनतासँग प्रत्यक्ष जोडिएर काम गर्यौं ।’
आशा छ फेरि पनि आफूहरु एक ठाउँ हुने भन्दै मुख्यमन्त्री महराले आफ्नो नेतृत्वमा रहेको सरकार सफल गराउन सधै अग्रपंतिmमा उभिएकोमा राजीनामा दिने एमालेका मन्त्रीहरुप्रति मुख्यमन्त्री महराले कृतज्ञता व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij