
शुक्रवार , आषाढ २२, २०८१
रुपन्देही, २१ असार ।
नेकपा (एमाले) ले लुम्बिनीमा सहमतिको सरकार बनाउने विषय प्रदेश प्रमुखलाई जानकारी गराएको छ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल सुरु भएपछि बुटवलस्थित लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा त्यसको औपचारिक जानकारी गराइएको एमाले संसदीय दलका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले बताए ।
चौधरीले मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता गरेको, एमालेबाट मन्त्री भएका सबैले राजीनामा दिएको र अब एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रक्रिया सुरु गरिएको भन्दै प्रदेश प्रमुख अमिक शेरचनलाई जानकारी पत्र बुझाएको बताए ।
उनले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियालाई छिटो अगाडि बढाउन प्रदेश प्रमुखको कार्यालयलाई आग्रह गरिएको जानकारी दिए ।
प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेश, बुटवल मुकामका उपसचिव धर्मा अर्यालले जानकारी पत्र बुझ्दै प्रदेश प्रमुखको संवैधानिक निर्देशन अनुरूप आवश्यक कागजात तयार पारिने बताइन् ।
प्रदेश प्रमुख शेरचन औषधोपचारका लागि केही दिनदेखि काठमाडौंमा रहेको उनका स्वकीय सचिव वसन्त भट्टचनले जानकारी दिए ।
एमालेले असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई राजीनामा दिन लगाएको थियो । सोही अनुरूप मन्त्रीहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्नबहादुर खत्री, अर्जुन केसीले असार २० गते बेलुका राजीनामा दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij