
आइतवार , आषाढ २४, २०८१
बुटवल, २३ असार ।
‘देशभरका परियारहरु एकजुट हौं’ भन्ने उद्देश्यले स्थापित संस्था परियार सेवा समाज लुम्बिनी प्रदेशको प्रथम भेला शनिबार रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । परियार सेवा समाजको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागि लुम्बिनी प्रदेशस्तरीय भेला आयोजना गरिएको आयोजकले जनाएका छन् ।
समाजका लुम्बिनी प्रदेश संयोजक कृष्ण रणपालको अध्यक्षतामा भएको कार्यक्रममा परियार सेवा समाजका निवर्तमान केन्द्रीय महासचिव तथा प्रचारप्रसार उपसमिति संयोजक धर्म परियारको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि धर्म परियारले परियार समुदायका बन्धुहरुको हकहित, एकता र उत्थानको लागि देशभरका परियारहरु एकजुट भएर लाग्नुपर्ने बताए । २१ औं शताब्दीमा पनि सीप र कलाले धनी परियारहरु राज्यका विभिन्न निकायमा अवसरबाट वञ्जित हुन परेको बताउँदै त्यसका लागि परियार समाज एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए ।
प्रथम लुम्बिनी स्तरीय भेलाले प्रदेश संयोजक कृष्ण रणपालको संयोजकत्वमा २७ सदस्यीय टीम चयन गरको छ । उक्त भेलाले आगामी साउन १५ गतेभित्र सबै जिल्ला र प्रदेशमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको कृष्ण रणपालले बताए । त्यस्तै भदौ १४ र १५ गते काठमाडौंमा भव्य समारोहका बीच समाजको पाँचौं राष्ट्रिय सम्मेलन सम्पन्न हुने उनले बताए ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष रामकुमार रणपाल, कृष्ण घेले, जंग बुढापृथी, सरोज गौतम, सुवास परियार, सुवर्ण परियार, रामु परियार, लिला बागदास, राजु वराह र अरुणा कोइरालाले ै परियार जातिको हकहित, उत्थान, संस्थागत एकता तथा पेशागत संरक्षणका लागि देशभरका परियारहरु एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा परियार एकता संस्था बर्दघाटका अध्यक्ष चन्द्र रणपाल, निवर्तमान अध्यक्ष तथा सल्लाहकार भोजराज रणपाल, शान्ता रणपाललगायतको सहभागीता रहेको थियो । परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण परियारले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij