
आइतवार , आषाढ २४, २०८१
भैरहवा, २३ असार ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण विद्यार्थीहरुलाई एक भव्य समारोहकाबीच बधाई तथा शुभकामना व्यक्त गरिएको छ । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) मा आबद्ध सदस्यहरुका १० जना बालबालिकाहरुलाई विभिन्न उपहारसहित टीका, प्रसादका साथै विभिन्न उपहार प्रदान गरेर प्रोत्साहन गरिएको थियो ।
एलएसडीटीको १२१ औं श्रृंखलाको अवसरमा शनिबार (हिजो) आयोजित समारोहका प्रमुख अतिथि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुख राजयोगीनी शान्ति सुवेदीले विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै ध्यान, साधना र आध्यात्मिक चिन्तनको महत्ववारे प्रवचन गरेकी थिइन् । तालिमको प्रारम्भमा राजयोगी ब्रहमकुमार भुपेन्द्र अधिकारीले ध्यान गराएका थिए ।
विद्यार्थीहरुमध्येबाट सम्पदा गौतमले सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट नतिजा ल्याउन सकिने बताउँदै लब्धांक–पत्रमा पाएको अंकसँगै जीवनमा पाउने अंक अझै महत्व हुने बताउँदै एलएसडीटीले जीवन जिउने कला सिकाएको बताइन् । गौतम कालिका मानव ज्ञान विद्यालय बुटवलकी छात्रा हुन् ।
विद्यार्थीहरुलाई पुरस्कार वितरण गराउँदै एलएसडीटी व्यवस्थापन समितिका सदस्य हरिश सेठियाले पुरस्कारमा योगदान दिने विष्णु शर्मा आचार्य, राजु न्यौपाने, अभिनव मयुर कसौधन, रश्मी लोहनी, अर्जुन पाठक र नितु थापालाई धन्यवाद ज्ञापन गरेका थिए । सेठियाले आफ्नोतर्फबाट विद्यार्थीहरुलाई झोला (ब्याग) उपहार प्रदान गरेका थिए।
कार्यक्रमको सञ्चालन चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठनका कार्यसमिति सदस्य कृष्ण मरासिनीले गरेका थिए भने स्वागत मन्तब्य कार्यक्रम संयोजक विमला बेल्बासेले गरेकी थिइन् ।
एलएसडीटी सदस्य शिशिर पौडेलले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए । भैरहवा क्षेत्रबाट सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल आर्य पब्लिक स्कूललाई प्रंशसापत्र प्रदान गरिएको थियो । स्कूलकी प्रिन्सिपल कृति सिंहले एलएसडीटीलाई धन्यवाद ज्ञापन गरिन् ।
एलएसडीटीले हरेक शनिबार बिहान ८ बजेदेखि १०ः३० सम्म भैरहवास्थित एसियन बुद्ध होटलमा तालिम सञ्चालन गर्दै आइरहेको छ । यसको मुख्य प्रशिक्षक विजय पाण्डे रहेको व्यवस्थापन समिति सचिवालय प्रमुख विरेन्द्र ज्ञवालीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij