
आइतवार , आषाढ २४, २०८१
काठमाडौं, २३ असार ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारका नाममा कांग्रेस–एमालेले फजुलको कुरा गरेको बताएका छन् ।
आइतबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले राष्ट्रिय सहमतिको सरकार भन्ने नितान्त फजुल कुराबाहेक केही नभएको बताएका हुन् ।
कांग्रेस–एमाले मिलेर सरकार बनाउने र केही आफुलाई सुरक्षित गर्नुपर्छ भन्ने पार्टीहरुले साथ दिन सक्ने उनले बताए ।
खनालले संसदीय व्यवस्थामा सामान्यतया बहुमत पुग्नेको सरकार बन्ने गरे पनि कुनै पनि देशका मुख्य मुख्य दुई ठूला दल मिलेर सरकार बनाउने कुरा संसदीय व्यवस्थामा नौटंकी जस्तै रहेको टिप्पणी गरे । उनले नयाँ गठबन्धनमा सहभागी हुने कुनै गुञ्जायस नरहेको स्पष्ट पारे । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले ठूला पार्टीका नेताहरुमा रहेका असक्षमता र अयोग्यताका कारण देश अस्थिरताबाट गुज्रिरहेको बताए ।
उनले नयाँ सरकारको आधार स्पष्ट नभइसकेको अवस्थामा संविधान संशोधनको कुरालाई नियालिरहेकोे भन्दै एजेण्डाका आधारमा जोडदार प्रतिक्रिया आउने उल्लेख गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij