२०८३, श्रावण ३ गते

Jul 19 2026 | २०८३, श्रावण ३ गते

मानव बेचबिखनविरुद्ध सचेतनामूलक अभिमुखीकरण कार्यक्रम गरिने

आइतवार , आषाढ २४, २०८१

  • 1000
    Shares
  • 1000
    Shares
  • भैरहवा, २३ असार । 
    मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पालिका स्तरीय बैठक आइतबार सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा सम्पन्न भएको छ । माइती नेपाल भैरहवाको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको समन्वय र सहकार्यमा भएको बैठकले अहिलेसम्म गरेका कामको समिक्षा तथा आगामी कार्यक्रमका लागि योजना बनाउनेबारे निर्णय गरेको छ । 

    नगरप्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतामा भएको बैठकमा १५ जनाको सहभागीता रहेको थियो । माइती नेपाल आवधिक गृह भैरहवाको आयोजना तथा फ्रि अ गल्स नेदरल्याण्डको आर्थिक सहयोगमा सम्पन्न बैठकमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि सल्लाह–सुझाव संकलन र वर्तमान अवस्थाका बारेमा जानकारी तथा समीक्षा र चुनौतीका विषयमा छलफल भएको थियो । 

    बैठकले मानव बेचबिखन नियन्त्रणका लागि माइती नेपाल र सिद्धार्थनगर नगरपालिकाको समन्वयमा मानव बेचबिखनविरुद्ध विद्यालय र समुदायस्तरमा सचेतनामूलक अभिमुखीकरण तथा अन्तक्रिया सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । 

    बैठकमा नगर उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत जनक थापा, सामाजिक विकास शाखा प्रमुख लक्ष्मण गिरी, महिला बालबालिका शाखा प्रमुख कौशिल्या चौधरी, वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख सुरज बहादुर खड्का, शिक्षा शाखा अधिकृत जानह्वी पाण्डे, स्वास्थ्य शाखा प्रमुख गीता न्यौपाने पोखरेल, कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादव, रोजगार संयोजक खेमराज गैरे, सूचना अधिकृत तपन पाण्डे, नगरस्तरीय बाल सन्जाल अध्यक्ष तारा प्रसाद बेल्बासे लगायतको उपस्थिति रहेको माइती नेपाल आवधिक गृह भैरहवाकी कार्यक्रम संयोजक माया क्षेत्रीले बताइन् ।