
सोमवार , आषाढ २५, २०८१
भैरहवा, २४ असार ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा तीनवटा संस्थाले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रम गरेका छन् । उद्योग व्यापार संगठन, रुपन्देही, आस्था महिला उद्यमी संघ र होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो ।
सिद्धार्थनगर नगरपालिका–९ स्थित प्रभातपथदेखि उदयपुर (संस्थाहरु कार्यालय भवन) सम्म सडकको बाँयातर्फ वृक्षारोपण गरिएको कार्यक्रम संयोजक तथा आस्था महिला उद्यमी संघकी अध्यक्ष मिनिता थापा क्षेत्रीले बताइन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले यस्ता कार्यक्रम गर्दा स्थानीयबासीलाई साथमा लिइ अघि बढ्न आग्रह लिए । उनले भने, ‘सामूहिक रुपमा अघि बढ्दा निश्चय पनि सफल भइन्छ । जसको घर अगाडि विरुवा छ, उहाँहरुलाई संरक्षणको जिम्मेवारी दिएर अघि बढ्नुपर्छ ।’
कार्यक्रममा पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँ, उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोख्रेललगायतले सिद्धार्थनगरलाई हरियाली बनाउन वृक्षारोपण आवश्यक भएको बताए ।
उद्योग व्यापार संगठन, रुपन्देहीकी महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij