
सोमवार , आषाढ २५, २०८१
काठमाडौं, २४ असार ।
नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले मुलुकलाई अस्थिरतातर्फ लैजाने कोशिष भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बर्तौलाले वर्तमान सरकार अल्पमतमा परे पनि आफ्नो आयु लम्याउने काम भइरहेको र बालुवाटारबाट नयाँ सरकार बन्न रोकेर मुलुकलाई अस्थिरतातर्फ लैजाने कोशिष भइरहेको बताएका छन् ।
आफूहरु वर्तमान सरकारलाई बलियो ढंगबाट अघि बढाउन चाहे पनि प्रधानमन्त्री प्रचण्डले अर्को दाउपेचमा सहभागी भएकाले एमाले थप सशंकित भएको उनले बताए । उनले सरकारभित्र रहदारहदै एमालेलाई कमजोर बनाउने कामका कारण एमाले सरकारबाट बाहिरिएको र कांग्रेससँग सहकार्य भएको जिकिर गरे ।
उनले कांग्रेससँग भएको सहमति कार्यान्वयनमा एमाले दृढताका साथ अघि बढने बताए । अहिले संवैधानिक व्यवस्थालाई बङ्गाउने खेल भएको भन्दै सांसद बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन कुनै पनि संवैधानिक अड्चन नरहेको दावी गरे ।
त्यस्तै उनले लामो समय नदिइ तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुल्ला गर्न प्रधानमन्त्रीलाई अनुरोध समेत गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij