
सोमवार , आषाढ २५, २०८१
काठमाडौं, २४ असार ।
नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’ को बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ । विभिन्न अप्ठ्याराहरूका कारण रोकिएको बाँकी एपिसोडहरू आगामी बिहीबार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारणमा हुने शेफ नेपालले जनाएको छ ।
आउँदो शनिबार शेफ नेपालको एकजना उत्कृष्ट प्रतिष्पर्धी पहिलो फुड रियालिटी शोको पहिलो विजेता छनोट हुने जानकारी एक पत्रकार सम्मेलनबीच शेफ नेपालका परिकल्पनाकार एवं क्रिएटिभ डाइरेक्टर धर्मराज पाण्डेले जानकारी दिए ।
ललितपुर बुङ्मतिमा रहेको नेपालकै अत्याधुनिक इनडोर अम्युजमेन्ट पार्क दि वन्डरल्याण्ड बाँकी एपिसोडका लागि मुख्य प्रायोजकमा जोडिएको छ । शेफ नेपाल उत्कृष्ट रियालिटि शो भएकाले मनोरन्जन विधामा हातेमालो गर्न प्रमुख प्रायोजकको रुपमा शोसँग जोडिएको दि वन्डरल्याण्डका मार्केटिङ हेड शिखर बस्नेतले बताए । त्यसै गरी बाँकी एपिसोडमा उद्घोषकको रुपमा लोकप्रिय मिडियाकर्मी रक्षा उप्रेती जोडिएकी छन् ।
कार्यक्रमको जज (निर्णायक)मा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका छन् । १ सय प्रतियोगी छनोट गरी सुरू भएको शोमा अब उत्कृष्ट ८ प्रतियोगीको प्रतिष्पर्धा हेर्न पाइनेछ ।
खाना संस्कृतिको धनी देश नेपालमा पहिलोपटक फुड रियालिटी सो सञ्चालन हुनु निकै गर्वको कुरा रहेको र यसले नेपाली रेसिपीको प्रवर्द्धनसँगै भान्से पेशालाई अझ गर्विलो बनाएको जजहरूको भनाइ छ ।
धर्म पिक्चर्सको ब्यानरमा निर्माण भएको कार्यक्रमको अब आउने एपिसोडहरू अझ रोमान्चक रहने विश्वास कार्यक्रमका निर्माता एवं धर्म पिक्चर्सका सँस्थापक धर्मराज पाण्डेको रहेको छ ।
पछिल्लो एपिसोडहरु निर्माण गर्न कान्तिपुर टिभीको प्राविधिक सहयोग समेत रहेको छ । कार्यक्रमको फाइनल एपिसोड कान्तिपुर टिभीमा प्रशारण भएसँगै शेफ नेपालको युट्युब च्यानलमा समेत हेर्न सकिनेछ ।
विश्वका विभिन्न कुकिङ प्रतियोगितामा सफल भइ नेपालको नाम विश्वभर फैलाएका मास्टर सेफ सन्तोष शाह मास्टर जजको भूमिकामा छन् ।
त्यस्तै देशका गाउँ बेसी भ्रमण गरी विभिन्न नेपाली खाना र स्वादहरूको अध्ययन एवं प्रवर्द्धन गरिरहेका भान्से लक्ष्मण प्रसाद भण्डारी र थाइ फुडका पारङ्गत गणेश ढकाल जजको भूमिकामा छन् ।
ढकाल रोयल थाई हस्पिटालिटी र बान थाई रेष्टुरेण्टका प्रबन्ध निर्देशक समेत हुन् । सेफ ढकालले ठिमी भक्तपुरस्थित रोयल थाई हस्पिटालिटिमा सञ्चालन गरिरहेको ब्याङ्क्वेटमा स्टुडियो सेट निर्माण गरी कार्यक्रमको सुटिङ भइरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij