
मंगलवार , आषाढ २६, २०८१
भैरहवा, २५ असार ।
नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखाको आयोजनामा स्वयंसेवक व्यवस्थापन तथा सुरक्षित पहुँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार भैरहवामा सम्पन्न भएको छ । वर्षाको समयमा बाढीपहिरो र डुबान जस्ता विपदबाट कसरी सुरक्षित हुने र गराउने भन्नेबारे रेडक्रस रुपन्देही अन्तर्गत सम्पूर्ण उपशाखाका प्रमुख तथा प्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको हो ।
विपदमा व्यवस्थित तरिकाले स्वयंसेवक परिचालन गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा कार्यक्रममा जानकारी गराइएको थियो । मानवीय सेवालाई प्रभावकारी तवरले सुरक्षाकर्मी लगायत सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी परिचालन हुने बारेमा छलफल भएको थियो ।
उपशाखाका २० जना सहभागीहरुलाई नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश शाखाका शंकर भट्टराई र विजया शर्माले सहजीकरण गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका सभापति लाल प्रसाद पंगेनी (कृष्ण) ले यस्ता कार्यक्रमले विपदजन्य घटनामा रेडक्रसको उपस्थितिलाई अझ प्रभावकारी बनाउन मद्दत पुर्याउने बताए । उनले रेडक्रसको मुख्य भूमिका र वर्षाको समयमा अधिकतम स्वयंसेवक परिचालनमा जोड दिए । उनले रेडक्रस स्वयंसेवी भावनाले काम गर्ने संस्था भएको बताए ।
त्यस्तै नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले स्वयंसेवक परिचालन कठिन विषय भएको बताए । उनले वर्षाको समय भएकाले स्वयंसेवक परिचालन गर्ने बेला आएको बताए ।
रेडक्रस जिल्ला शाखा उपसभापति रुपमा हिराचनको स्वागत तथा मन्त्री रामचन्द्र उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij