२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भन्सार छलेर भित्रिएका वस्तुहरुको विक्रीवितरणलाई निरुत्साहित गर्न माग

मंगलवार , आषाढ २६, २०८१

भैरहवा, २५ असार ।
भन्सार छलेर नेपाल भित्रिएका विदेशी वस्तुहरुको विक्रीवितरणलाई निरुत्साहित गर्न व्यवसायीले माग गरेका छन् । अवैध रुपमा भित्रिने विदेशी सामानका कारण स्वदेशी वस्तुले प्रतिष्पर्धा गर्न नसकेको उनीहरुको गुनासो छ ।

हिमचिम ट्रेडिङ सेन्टर प्रा.लि. सिद्धार्थनगर–१२, रुपन्देहीका सञ्चालक अभिनव मयुर कसौधनले नेपाली बजारमा विदेशी उत्पादनहरुको अवैध प्रवेशले व्यवसाय प्रभावित भएको बताए । उनले भने, ‘वैध व्यवसाय जसले कानूनी आवश्यकताहरु पालना गर्छन् र भन्सार छलेका अवैध सामानहरु अनुचित प्रवेशले कम मूल्यहरुसँग प्रतिष्पर्धा गर्न संघर्ष गरिरहेका छन् । यो अवस्थाले कानून पालन गर्ने व्यवसायीहरुका लागि व्यापार गुमाउनुका साथै राज्यको राजस्व कम भइ समग्र अर्थतन्त्रलाई पनि असर गरिरहेको छ ।’ भारतमा उत्पादित डार्क प्यान्टासी बिस्कुट भन्सार छलेर भित्र्याइएको र उक्त बिस्कुट विक्री भइरहेको उनको गुनासो छ ।

भैरहवा वितरक संघ, रुपन्देहीका अध्यक्ष समेत रहेका कसौधनले कर नलाग्ने वस्तुहरुको फैलावटले उपभोक्ता सुरक्षा र उत्पादनको गुणस्तरीय मापदण्डहरुमा खतरा उत्पन्न हुने बताए । उनले उचित नियमन, निरीक्षण बिना यी उत्पादनहरुले आवश्यक गुणस्तर र सुरक्षा मापदण्डहरु पूरा गर्न नसक्ने भएकाले यसले उपभोक्ताहरुलाई जोखिममा पारिरहेको बताए ।

उनले सीमा नाकामा कडाइ गर्नुपर्ने माग गरे । उनले स्थानीय रुपमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्दै भन्सार छलीका सामान खरिद नगरे स्थानीय डिलरहरुलाई पनि सहज हुने बताए । उनले वितरकहरु धेरै मर्कामा परेको गुनासो गरे । ‘भन्सार छलेर भित्रिएका सामानहरुसँग हामीले प्रतिष्पर्धा गर्न सकेका छैनौं, ’उनले भने । डार्क प्यान्टासी बिस्कुटको उत्पादन नेपालमा सूर्य नेपाल प्रा.लि.बाट भइरहेको उनले जानकारी दिए । 

त्यस्तै सूर्य नेपाल प्रा.लि.लुम्बिनी प्रदेश व्यवस्थापक शिव पोखरेलले अवैध रुपमा सामान नेपाल भित्रिन नदिन सीमा नाकामा अझ कडाइ गर्नुपर्ने बताए । उनले अवैध रुपमा भित्रिएका सामान तथा वस्तुहरुलाई निरुत्साहित तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने माग गरे ।