२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

साउदी जेलमा रहेका रामआशिषलाई बचाउन ४६ लाख हस्तान्तरण

बुधवार , आषाढ २७, २०८१

भैरहवा, २६ असार ।
साउदी अरेबियाको जेलमा रहेका धनुषाको जनकपुर उपमहानगरपालिका–१७ का रामआशिष यादवलाई रिहाइ गर्न र बचाउन ४६ लाख २५ हजार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । कर्तव्यज्यानको अभियोगमा मृत्युदण्ड सजाय पाएका धनुषाका यादवलाई बचाउन रुपन्देहीमा जुटाइएको ४६ लाख २५ हजार ‘ब्लडमनी’ परिवारलाई मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा हस्तान्तरण गरिएको हो ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईं र कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको रोहबरमा पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ४ का दुर्गा प्रसाद शर्मा र धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ बस्ने रामआशिष यादव साउदी अरबमा एउटै कम्पनीमा काम गर्थेे । एउटै कम्पनीमा हुँदा दुवैजनाको कोठा पनि एउटै थियो । उनीहरुको खाने–रमाउने एउटै थलो थियो । 

त्यसैक्रममा २०१८ साल सन् २०१८ सेटेम्बर ६ तारिख कोठामै रमाइरहेकै अवस्थामा धनुषाका रामआशिष यादवले रुपन्देहीका दुर्गा प्रसाद शर्माको छुरा प्रहार गरी हत्या गरे । साउदीको ताबुक क्रिमिनल कोर्टले सन २०२० को २० डिसेम्बरमा हत्या गरेको प्रमाणित गर्दै रामआशिष यादवलाई तत्कालको लागि पाँच वर्षको कैद सजायको फैसला गर्यो।

पीडित शर्मा परिवार सुरुमा ‘ब्लडमनी’ मा सम्झौता नगर्ने अडानमा थिए । केही जनप्रतिनिधि, व्यवसायी र प्रमुख जिल्ला अधिकारीलगायतको पहलपछि पीडित परिवार ५० लाखको ‘ब्लडमनी’ मा सम्झौता गर्न सहमत भए ।

यादव परिवारले ब्लडमुनी रकम जुटाउन नसकेपछि नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ सहयोग जुटाउन अग्रसर भए । 

रूपन्देहीका ३० जना व्यवसायीले ३६ लाख २५ हजार, प्रमुख जिल्ला अधिकारी गणेश  अर्यालले ५० हजार, दुईजना सहायक प्रमुख जिल्ला अधिकारीले २५–२५ हजार, तीन सुरक्षा निकायका प्रमुख ७५ हजार रूपैयाँ जुटेको थियो । यादव परिवारले पनि १० लाख रुपैयाँ जुटाएपछि ४६ लाख २५ हजार ‘ब्लडमनी’ महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शर्माले मंगलबार नै मृतक दुर्गाकी पत्नी सीता शर्मालाई हस्तान्तरण गर्दै सम्झौता गराइएको छ ।

रामआशिष यादवकी पत्नी रेनो कुमारीले आफ्नो भएको १५ धुर खेत, अढाई धुरको घडेरी र त्यसमा बनेको फुसको घर बेचेर १० लाख जुटाएकी थिइन । सबै मिलाई ४६ लाख २५ हजार रुपैयाँ मृतक दुर्गा प्रसाद शर्माको पत्नी सीता शर्मालाई नगदै हस्तान्तरण गरी रुपन्देहीले एउटा उदाहरण कायम गरेको छ । ब्लडमनी वापतको रकम बुझ्दा सीताको आँशु थामिएको थिएन ।

IMG_6830.JPG

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले एउटाको मृत्यु भइसकेको अवस्थामा अर्कालाई पनि मृत्यु नै दिनुहुँदैन भन्ने मान्यता रहेको र दुईटा घरलाई बचाउनका लागि यो प्रयास गरेका बताए । यो पाँच वर्षमा रामआशिषले आफुले गरेको कर्मको सजाय भोगेको र यादव परिवारले दुःख नपाउन भन्ने उद्देश्यले पनि रकमको जोहो गरिएको शर्माले बताए ।

धनुषाका रामआशिसलाई नचिने पनि खबरको भरमा दुवै परिवारको उद्वार होस् भनेर यो अभियान चलाइएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।

जनकपुरबाट रुपन्देही आएकी आशिषकी पत्नी रेनो कुमारीले रुपन्देहीको सिडियो आफ्नो परिवारका लागि भगवान बनेको बताइन् । उनले भनिन्, ‘अब सिडियोसाबको फोटो राखेर पूजा गर्छु ।’

IMG_6844.JPG

कन्सुलर विभागको आवश्यकताअनुसारका सबै कागजात र फारम भरेर बुधबार पठाउने तयारी भएको जिल्ला प्रशासनले जनाएको छ ।