२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सक्षम र परिणाम दिन सक्ने टीम मन्त्रिपरिषदमा पठाउँछौं : एमाले

बुधवार , आषाढ २७, २०८१

काठमाडौं, २६ असार ।

नेकपा (एमाले) ले सक्षम र परिणाम दिन सक्ने टीमलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले अब बन्ने सरकारलाई प्रभावकारी बनाउनका लागि सक्षम र परिणाम दिन सक्ने टीमलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो । 

असार २८ गते प्रधानमन्त्रीको विश्वासको मत लिने काम पछि सरकार गठनको प्रक्रिया सुरु हुने र त्यसपछि विस्तृत रुपमा मन्त्रिपरिषद्मा पठाउने व्यक्तिहरुका विषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उहाले एमाले–कांग्रेसले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र अन्य दललाई संख्याका आधारमा प्रतिनिधित्व गराउने बताए । ज्ञवालीले केपी ओलीको नेतृत्वमा सरकार गठन गर्नको लागि कुनै कानूनी जटिलता नभएको भन्दै संविधानको धारा ७६ (२) अनुसार कै नयाँ सरकार गठन हुने बताए ।

बैठकले सम्बन्धित भूगोल भन्दा बाहिर पठाएका पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई आफ्नै भुगोलमा फर्काइने र नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको छ । जसअनुसार केन्द्रीय सदस्यहरूलाई तल्लो इकाइको आधारमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रमा जिम्मा दिने गरी आधारभूत इकाई निर्वाचन क्षेत्रको समन्वय कमिटीलाई आधार बनाएर कार्यविभाजन गर्ने ज्ञवालीले जानकारी दिए । त्यस्तै प्रदेशले कार्यविभाजन गर्दा पालिकालाई आधार र जिल्लाले वडालाई, पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरी मापदण्ड निर्धारण गरिएको उनले बताए ।

बैठकले सबै जिल्लाहरुलाई साउन महिनाभित्र पार्टी सदस्य नविकरण गर्न निर्देशन दिएको छ । यो वर्ष अभियानकै रुपमा ६६ जिल्लामा अधिवेशन गरेको र बाँकी जिल्लालाई कार्तिकभित्र अधिवेशन गर्न बैठकले निर्देशन दिएको ज्ञवालीले बताए ।