
बिहिवार , आषाढ २८, २०८१
भैरहवा, २७ असार ।
राष्ट्रिय युवा संघ, नेपाल रुपन्देही जिल्ला कमिटीले बुटवल उपमहानगरपालिका–७ निवासी संघका पूर्व जिल्ला कमिटी सदस्य रवि थापा मगरको हत्यामा संलग्न दोषीलाई कारवाही गर्न माग गरेको छ । संघले बिहीबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको छ ।
संघका रुपन्देही जिल्ला अध्यक्ष विकास बस्नेतका अनुसार २०८१ जेठ २ गते बुधबार साँझ कालिकानगरस्थित एक रेष्टुरेण्टमा कार्यरत रविलाई रेष्टुरेण्टमा आएका व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएका थिए । घाइते भएका रविको उपचारको क्रममा असार १८ गते बिहान निधन भएको थियो ।
उनले भने, ‘एउटा जुझारु र उर्जाशील युवाको अल्पायूमा भएको निधनले हामीलाई अत्यन्तै पीडाबोध गराएको छ । उक्त रेष्टुरेण्टमा रहेको सीसीटिभी क्यामेरामा घटनाको विवरण कैद भइ घटनामा संलग्न व्यक्तिको पहिचान समेत खुलिसकेको अवस्थामा पनि खोजी कार्य नहुनु अत्यन्तै दुःखद विषय हो ।’
संगठनकोतर्फबाट ईलाका कार्यालय, बुटवल लगायत सरोकारवाला पक्षसँग निरन्तर रुपमा गरिएको अनुरोधका बाबजुद हालसम्म उनीहरु पक्राउ नपर्ने विषयले आफूहरुलाई अत्यन्तै चिन्तित बनाएको अध्यक्ष बस्नेतले बताए ।
घटनाको अनुसन्धानमार्फत अपराधीहरुलाई सजाय दिने काममा भएको ढिलासुस्ती र लापरवाहीप्रति गम्भिर आपत्ति प्रकट गर्दै उक्त जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई यथाशिघ्र पक्राउ गरी क्षतिपूर्तिसहित आवश्यक कानूनी कारवाही गर्न उनले माग गरे ।
रुपन्देहीको शान्ति सुरक्षामा समेत गम्भिर प्रश्नचिन्ह खडा गरेको उक्त घटनामा संलग्न व्यक्तिहरुलाई यथाशिघ्र कानूनी कठघरामा ल्याउने काम नभएको खण्डमा प्रशासन कार्यालयमा धर्ना दिने, सरकारी नम्बर प्लेटका सवारीसाधनहरुको आवतजावतमा रोक लगाउने, राँके जुलुस प्रदर्शन गर्ने, बन्द हड्ताल गर्ने लगायत चरणबद्ध विरोधका कार्यक्रमहरुको आयोजना गर्नै उनले चेतावनी दिए ।
राष्ट्रिय युवा संघ, नेपाल केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज केशव रोकाले विगतका घटनाहरुले अपराधी समयमै पक्राउ नपर्दा अर्को घटना घटाउन सक्ने परिस्थिति खडा हुन सक्नेतर्फ प्रशासन सचेत हुनुपर्ने बताए ।
नेकपा (एमाले) रुपन्देही जिल्ला सदस्य तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य नकुल शाही ठकुरीले घटनालाई गम्भिरतापूर्वक लिन र पीडितलाई छिटो भन्दा छिटो न्याय दिन आग्रह गरे ।
ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी अर्यालले आगामी दिनमा घटनाबारे फेरी के भयो भन्ने प्रश्न गर्ने ठाउँ नदिने प्रतिवद्धता व्यक्त गरे । उनले सूचना दिएर अनुसन्धान कार्यमा आवश्यक सहयोग गर्न आग्रह गरे । उनले भने, ‘यो विषय ओझेलमा पर्दैन । नजरअन्दाज हुँदैन । मान्छेको ज्यानको विषय हल्का रुपमा लिने कुरा नै हुँदैन ।’
त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले अदालतबाट पक्राउ पूर्जा लिइ घटनामा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको बताए । उनले संलग्न व्यक्ति छिटो भन्दा छिटो कानूनी दायरामा आउने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij