
शुक्रवार , आषाढ २९, २०८१
भैरहवा, २८ असार ।
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर धावनमार्ग (रनवे) को किनारमा पुगेको बुद्ध एअरको जहाज हटाउन नसक्दा विमानस्थलबाट शुक्रबार (आज) बिहान हुने कुनै पनि उडान हुन सकेको छैन । जहाज चिप्लिँदा जहाज रनवेको छेउमा रोकिँदा विमानस्थलबाट उठान हुन नसकेको हो ।
काठमाडौँबाट गए राति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएर रनवेबाट ५ मिटर बाहिर माटोमा पुगेको थियो । गएराति नै बुद्ध एयरको १५ जनाको प्राविधिक टोली आएर जहाज हटाएर मर्मत गर्ने प्रयास गरे पनि सफल हुन सकेका थिएनन् ।
आज बिहानैदेखि रनवेबाट जहाज हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिए । अहिले काठमाडौंबाट बुद्ध एयरको थप प्राविधिक टोली भैरहवातर्फ आउने क्रम रहेको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij