
शुक्रवार , आषाढ २९, २०८१
रुपन्देही, २८ असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ जानकीनगरस्थित लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमीमा बी.एल.एल.बी प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको लागि सिर्जनशील लेखनको लागि पत्रकारिताको महत्व विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व सभापति तथा वरिष्ठ पत्रकार डीआर घिमिरेले प्रशिक्षण दिएका थिए ।
कलेज पढ्दै गरेका विद्यार्थीहरूले आफैले समूह बनाएर भित्ते पत्रिका, बुलेटिन, कलेजको मुखपत्र निकाल्ने काम गर्न सक्ने र त्यसले विद्यार्थीको लेखन क्षमतामा सिर्जनशीलता थप हुने घिमिरेले बताए । उनले भने,‘आजको प्रविधिको विकासले पत्रकारितामा उच्चतम सुविधा र अवसर दिएको छ । च्याट जेपिटी, एआईहरुले आफै समाचार लेख्दिन्छन् तर पनि लेखनशैलीलाई उत्कृष्ट एवं सिर्जनशील बनाउनको लागि अध्ययन र लेखनको महत्व बढिरहेको छ ।’
कानूनका विद्यार्थीहरुले तमसुक लेख्दा श्रीदेखि शुभमसम्म एउटै वाक्यमा लेख्न सिक्ने तर पत्रकारितामा छोटो वाक्य, सजिलो र दोहोरो अर्थ नलाग्ने हुनुपर्ने उनको भनाइ छ । पत्रकारिताको लेखन शैलीको ज्ञान हुँदा धेरै फाइदा हुने उनले बताए ।
लुम्बिनी इन्टिग्रेटेड एकेडेमी पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । एकेडेमीमा बी.एस.सी फरेष्ट्री (वन विज्ञान) मा ४८ सिट र ५ वर्षे बी.ए.एल.एल.बी.मा ६० जना विद्यार्थीको पढाइ हुन्छ । अहिले यहाँ ४० भन्दा बढी जिल्लाका विद्यार्थीहरु अध्यनरत छन । जुनसुकै विषयमा कक्षा १२ पास गरेका र कम्तिमा जीपीए २.४ प्राप्त विद्यार्थीहरुल बी.ए.एल.एल.बी. अध्ययन गर्न पाउँछन् । त्यस्तै कक्षा १२ मा विज्ञान विषयबाट जीपीए २.४ ल्याएका वा वन विज्ञान र कृषि विषयमा सीटीइभिटीमा ३ वर्षे डिप्लोमा र ९ देखि १२ सम्म वन, पशु वा कृषि पढेका विद्यार्थीहरुले बी.एस.सी फरेष्ट्री पढ्न सक्नछन् ।
नयाँ शैक्षिक सत्रको लागि कक्षा १२ को नतिजा आए लगत्तै भर्ना खोल्ने र प्रवेश परीक्षा कलेजमै हुने कलेजका प्रमुख प्रशासक प्रकाश अधिकारीले जानकारी दिए । लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमी वन विज्ञान अध्ययन गराउने लुम्बिनी प्रदेशकै पहिलो र एक मात्र कलेज रहेको अधिकारीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij