२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रवि थापाको हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

शुक्रवार , आषाढ २९, २०८१

भैरहवा, २८ असार ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ का ३७ वर्षिय रवि थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा बुटवल उप–महानगरपालिका–११ बस्ने ३० वर्षिय किशोर कुँवर र बुटवल–२ मैनाबगर बस्ने २५ वर्षिय पुस्मन कार्की रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी मनोहर प्रसाद भट्टका अनुसार २०८१ जेठ ३ गते  १२ः२० बजे बुटवल–९ कालिकानगरस्थित रेष्टुरेण्टमा किशोर र पुस्मनले रविलाई कुटपिट गरी घाइते बनाएका थिए ।

घाइते रविको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महराजगंज काठमाडौंमा उपचारका क्रममा असार १८ गते मृत्यु भएको थियो । घटनामा संलग्न व्यक्तिहरु तत्काल फरार रहेको र उनीहरुलाई शुक्रबार पक्राउ गरी ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखी कर्तव्य ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको डीएसपी भट्टले जानकारी दिए ।

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, रुपन्देहीका अध्यक्ष विकास जंग बस्नेतका अनुसार संघका पूर्व जिल्ला कमिटी सदस्य समेत रहेका रवि थापा उक्त रेष्टुरेण्टमा कार्यरत थिए ।

हत्यामा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दै बिहीबार युवा संघले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझेपछि प्रजिअ अर्यालले आगामी दिनमा घटनाबारे फेरी के भयो भन्ने प्रश्न गर्ने ठाउँ नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले घटनामा संलग्न व्यक्ति छिटो भन्दा छिटो कानूनी दायरामा आउने बताएका थिए ।