
शनिवार , आषाढ ३०, २०८१
भैरहवा, २९ असार ।
लियो क्लब अफ सिद्धार्थनगर युथले वृक्षारोपण कार्यक्रम गरेको छ । क्लबले शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित श्री चित्रगुप्त मन्दिर परिसरमा वृक्षारोपण गरेको हो ।
कार्यक्रममा जामुन, निम लगायत विभिन्न प्रजातिका विरुवा रोपिएको क्लबको वर्ष २०२४/०२५ का अध्यक्ष सौरभ लाभले बताए । ‘भैरहवाको मुख्य बजार भन्दा भित्र रहेको यो स्थानलाई कार्यक्रम गर्नका लागि छनौट गरेका छौं, यो पहिलो चरणको कार्यक्रम हो । आगामी दिनमा पनि वृक्षारोपण कार्यक्रमसँगै विरुवा संरक्षण कार्यलाई निरन्तरता दिनेछौं,’ उनले भने ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लियो डिष्ट्रिक काउन्सील ३२५ पी, नेपाल एरिया–२ का एरिया चिफ मनिष ढकालले लियो क्लब अफ सिद्धार्थनगर युथले सराहनीय कार्य गरेको बताए । उनले वृक्षारोपणसँगै रोपिएको विरुवाहरुको संरक्षण समेत गर्ने क्लबका अभियान राम्रो भएको बताए । उनले भने, ‘केही स्थानमा वृक्षारोपण कार्यक्रम केवल कार्यक्रम गर्नका लागि मात्र भएजस्तो देखियो । तर, यो क्लबले रोपिएको विरुवाहरुको संरक्षण गर्ने अभियान सञ्चालन गर्ने बताएको छ । यो महत्वपूर्ण कार्य हो ।’
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अनिल कुमार के.सी.ले लियो सिद्धार्थनगर युथले आयोजना गरेको कार्यक्रम सराहनीय रहेको बताए । उनले वडा कार्यालयबाट हुनुपर्ने यस्तो कार्यक्रम लियो क्लबले गरेको बताए । उनले भने, ‘आगामी दिनमा पनि क्लबले राम्रो कार्य गर्दै जाओस् ।’
श्री चित्रगुप्त युवा सेवा समिति भैरहवा, रुपन्देहीका अध्यक्ष रत्नेश कुमार मल्लिकले श्री चित्रगुप्त मन्दिरमा वडा कार्यालयले ध्यान नदिएको गुनासो गरे । उनले रोपिएका विरुवाहरुको संरक्षण गर्न सके प्रतिफल प्राप्त गर्न सकिने बताए ।
लियो सिद्धार्थनगर युथकी निवर्तमान अध्यक्ष तथा रिजन-६ चेयरपर्सन सेजल मल्लिकले मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम गर्ने अवसर दिएको भन्दै मन्दिर परिवारलाई धन्यवाद व्यक्त गरिन् ।
क्लबका पूर्वअध्यक्ष शिव मौर्यले आफ्नो स्थापनाकालदेखि नै क्लबले वृक्षारोपण कार्यक्रम गरेको बताए ।
कार्यक्रम संयोजक तथा क्लबका सह–कोषाध्यक्ष अभिनव अग्रवालको स्वागत तथा क्लबका सचिव आदर्श कुमार पण्डितको सञ्चालनमा भएको कार्यक्रममा आस्था बज्राचार्यलगायतले बोलेका थिए । कार्यक्रममा श्री महात्मा बुद्ध माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक ओमप्रकाश त्रिपाठी, श्री चित्रगुप्त युवा सेवा समितिका सचिव विवेकानन्द मल्लिकलगायतको आतिथ्यता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij