
शनिवार , आषाढ ३०, २०८१
बुटवल, २९ असार । रोटरी क्लब अफ बुटवल चौतारीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले आफ्नो वार्षिक कार्ययोजना अनुसार पहिलो सर्भिस प्रोजेक्ट अन्तर्गत साउन महिनालाई वृक्षारोपण अभियानको रुपमा सञ्चालन गरेको छ ।
जसअन्तर्गत शनिबार तिलोत्तमा नगरपालिका वडा नम्बर ११ स्थित शिवपुर माविमा वृक्षारोपण गरिएको हो । त्यसअवसरमा धुपि, अशोका, निम, आदि जस्ता विरुवा रोपिएको क्लबका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए । ‘साउन महिनाभर हामीले वृक्षारोपण अभियानको रुपमा अगाडि बढाउँछौं, यो क्लबको महत्वपूर्ण सर्भिस प्रोजेक्ट अन्तर्गतको योजना हो, ’उनले भने ।
कार्यक्रमको उद्घाटन तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष विष्णु बहादुर बराल क्षेत्रीले गरेका थिए । त्यसअवसरमा उनले वृक्षारोपण कार्यको प्रशंसा गर्दै यसको संरक्षणमा स्थानीयको सक्रियता रहनुपर्नेमा जोड दिए ।
वातावरण बचाउन र हरियाली कायम राख्नका लागि पनि वृक्षारोपण आवश्यक रहेको भन्दै उनले यसको संरक्षणतर्फ पनि रोटरीले विशेष ध्यान दिनुपर्ने बताए ।
त्यसअवसरमा विद्यालयका सह–प्रधानाध्यापक केशव भण्डारी, शिक्षक रुद्रलाल भण्डारी, क्लबका निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदी, संस्थापक अध्यक्ष विष्णु घिमिरे, रोट्रयाक्ट भैरहवा चौतारीका निवर्तमान अध्यक्ष शंकर बस्याल, इन्ट्रयाक्ट क्लब बुटवल चौतारीका अध्यक्ष राहुल पाण्डे, संयोजक भिम पौडेल, खगेन्द्र प्रसाद बेलबासे लगायतले वातावरण संरक्षणका लागि समेत वृक्षारोपणको महत्व बढ्दै गएको बताएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij