
शनिवार , आषाढ ३०, २०८१
भैरहवा, २९ असार ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरले लिडरसीप स्किल्स डेभलपमेन्ट टेनिङ (तालिम) का निम्ति प्रशिक्षण प्रदान गरेका छन् । सशस्त्र प्रहरी र नागरिकको सम्बन्धका बारेमा चर्चा गर्दै उनले लिडरसीपको बारेमा पनि प्रशिक्षण दिएको कार्यक्रमका सहभागी रोहित साहले बताए । उनले भने, ‘एसपी सरले हामीलाई लिडरसीपका बारेमा सरल ढंगले अन्तरक्रिया गराउँदै प्रशिक्षण दिनुभयो ।’ कार्यक्रम धेरै आकर्षक रहेको अर्का सहभागी रिसव विश्वकर्माले सुनाए ।
एसएसडीटीको १२२ औ श्रृंखलाका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रमुख वक्ता समेत रहेका थापाले लिडरसीपमा निर्णय क्षमता र सम्वाद कलाको महत्वबारे प्रकाश पारे । उनले भने, ‘एक शब्दको प्रयोगले मानिसको ज्यान जान सक्छ भने जीवन रक्षा पनि हुन सक्छ । त्यस्तै लिडरमा निर्णय क्षमता अनिवार्य हुनुपर्छ ।’
तालिममा सहभागीहरुले विभिन्न जिज्ञासा राखेका थिए भने प्रमुख वक्ता थापाले जिज्ञासा मेटाएका थिए । तालिममा युवाहरुलाई लक्षित गरिएको थियो।
कार्यक्रमका अध्यक्ष व्यवसायी सन्दिप कुमार अग्रहरीले उपस्थितिलाई धन्यवाद ज्ञापन गर्दै उद्यमी व्यवसायीलाई एलएसडीटीमा जोडिन आग्रह गरे ।
तालिमको संयोजन चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीकी कार्यसमिति सदस्य उषा बेलबासेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रमको सञ्चालन उद्यमी मोहन बानियाले गरेका थिए । उनले भने, ‘यो तालिममा सम्पूर्ण लिंग, जाति, समुदाय पेशाका मानिसलाई समान व्यवहार गरिन्छ ।’ त्यसैले यसबाट लाभ लिन उनले आग्रह गरे ।
एलएसडीटीले हरेक शनिबार बिहान ८ बजेदेखि १०ः३० सम्म भैरहवास्थित एसियन बुद्ध होटलमा तालिम सञ्चालन गर्दै आइरहेको छ । यसको मुख्य प्रशिक्षक विजय पाण्डे रहेको व्यवस्थापन समिति सचिवालय प्रमुख विरेन्द्र ज्ञवालीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij