२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विचार कुनै एउटा देशको मात्र हुँदैन : पूर्वमन्त्री पाण्डेय

आइतवार , आषाढ ३१, २०८१

भैरहवा, ३० असार ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेश सरकारका पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले विचार कुनै एउटा देशको मात्र नहुने बताएका छन् । उनले विचार विश्वकै हुने बताए । 

आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा सिद्धार्थ साहित्य परिषद्, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको स्रष्टा सम्मान एवं रचना कार्यक्रममा पूर्वमन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले भने, ‘भानुभक्त आचार्य एउटा व्यक्तित्व मात्र होइन । उहाँ एउटा विचार पनि हो । भानुभक्तले आफ्नो जीवनमा नेपाल र नेपाली भाषाको क्षेत्रमा निर्वाह गरेको भूमिकाप्रति सम्मान व्यक्त गर्दछु । यो कार्यक्रममा धेरै बौद्धिक व्यक्तित्वहरु हुनुहुन्छ । मेरो शक्ति र सार्मथ्यले यहाँहरुलाई धन्यवाद दिन सक्दिन । त्यसकारण उहाँहरुलाई उच्च सम्मान व्यक्त गर्न चाहन्छु।’

उनले सिद्धार्थ साहित्य परिषद् (संस्थाको) लागि आफूले केही गरेको भए त्यसलाई सहयोगको रुपमा नलिन आग्रह गरे । उनले भने, ‘सन्तोष पाण्डेयले केही गर्छ भने त्यो सहयोग होइन, मैले आफ्नो दायित्व निर्वाह गरेको बुझिदिनुहुन आग्रह गर्दछु ।’

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका पाण्डेयले उद्योगी, व्यवसायी, कर्मचारी लगायतका पेशा भएका व्यक्तिहरुले आफ्नो शक्ति र सार्मथ्यले स्थापित भए पनि राजनीतिमा भने मान्छे जति विद्वान भए पनि जनताको मत आवश्यक रहेको बताए । 

पूर्वमन्त्री पाण्डेयले भने, ‘हामीमा जनताको लगानी हुन्छ । यहाँहरुको लगानी मभित्र छ । यहाँहरुको लगानी फर्काउने काम गरेको छु, सहयोग गरेको होइन । पटकपटक यो संस्थाको लागि गर्नेछु ।’ जनताले तिरेको करबाट नै जनताको विकास हुने उनको भनाइ थियो ।

कार्यक्रममा विगत लामो समयदेखि भैरहवा क्षेत्रमा क्रियाशील रही सामाजिक, राजनैतिक सेवाका माध्यमबाट समाज रुपान्तरणमा योगदान पुर्याएको भन्दै ‘सिद्धार्थ साहित्य सम्मान’ बाट पूर्वमन्त्री पाण्डेयलाई सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा सिद्धार्थ साहित्य पुरस्कार–२०८० बाट बुटवलका साहित्यकार चर्तुभुज आत्रेयलाई नगद रु. १० हजारसहित ताम्रपत्रले सम्मान गरिएको थियो ।

त्यसै गरी टेक बहादुर पन्थी स्मृति साहित्य पुरस्कारबाट साहित्यकार ठाकुरचन्द्र शर्मा, विष्णुमाया हटुवाल स्मृति पुरस्कारबाट साहित्यकार सरु ज्ञवाली, भाषा साहित्यमा योगदान गरेवापत सिर्जनशील साहित्यिक समाज (सिसास) का अध्यक्ष कमल पोखरेल ‘निश्चल’, दीपक प्रधान र निमा डिसीलाई नगद रु. १० हजारसहित ताम्रपत्रबाट सम्मान गरिएको थियो । 

पुरस्कारका संस्थापकहरु डा.ज्ञानदेव हटुवाल, बलराम जिसी, थम गुरुङ, माधव प्रसाद पन्थी र गंगा लिगल रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वरिष्ठ साहित्यकार विधान आचार्यले आदिकवि भानुभक्त आचार्यको बारेमा जति भने पनि थोरै हुने बताए ।
कार्यक्रममा साहित्यकार काशीराज आचार्य, मूल्यांकन समिति संयोजक प्राज्ञ बुँद राना, सदस्य रुद्र ज्ञवाली, परिषदका सल्लाहकार प्रा.डा.कपिल लामिछाने, कमल पोखरेल लगायतले बोलेका थिए ।

सिद्धार्थ साहित्य परिषद, रुपन्देहीका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता, कार्यक्रम संयोजक देवी प्रसाद न्यौपाने ‘धिर’को स्वागत तथा परिषदका सचिव लक्ष्मी प्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।