२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने मन्त्रीपरिषदको निर्णय

सोमवार , आषाढ ३२, २०८१

काठमाडौं, ३१ असार ।

सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाहरुको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएकाहरुको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । 

विपद्का कारण वेपत्ता भइ घटना घटेको १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । 

बैठकले २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको छ । 

कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार फ्लडलाइट जडान र प्याराफिट निर्माण कार्य तीन सय दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्वा गुरुङले जानकारी दिए । मैदानमा दर्शकका लागि बस्ने लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने बैठकले निर्णय गरेको उनले बताए ।

बैठकले परिवर्तित समयलाई मध्यनजर गर्दै मन्त्रीपरिषद् तथा मन्त्रीपरिषद्का विभिन्न समितिहरुमा प्रक्रियामा रहेका वा प्रक्रिया नलगिएका सम्पूर्ण प्रस्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको उनले बताए । 

त्यस्तै बैठकले जाजरकोट भूकम्प प्रभावितहरुलाई दोस्रो र तेस्रो किस्ता उपलब्ध गराउने निर्णय गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव लिलादेवी गर्तौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले मन्त्रालयबीच समन्वयका साथ अघि बढ्न निर्देशन दिएका थिए भने एक महिनाभित्र केही फरक देखाउने गरी काम गर्न पनि मन्त्रीहरुलाई निर्देशन दिनुभएको सरकारका प्रवक्ता गुरुङले बताए ।