२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सीमा सुरक्षासँगै सीमा अपराध नियन्त्रणमा अब्बल २७ नम्बर गण, राजस्व संकलनमा पनि अग्रपंक्तिमा

मंगलवार , श्रावण १, २०८१

भैरहवा, १ साउन । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीले सीमा सुरक्षासँगै सीमामा हुने अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सीमा सुरक्षाको रक्षाको लागि खटिएको सशस्त्र प्रहरी बल नेपालको २७ नम्बर गण नेपाल रुपन्देहीले सीमा सुरक्षासँगै सीमा अपराध नियन्त्रणमा महत्वपूर्ण भुमिका खेलेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा नेतृत्वको २७ नम्बर गणले चोरी तस्करी, लागूऔषध र मानव बेचबिखन नियन्त्रणमा उल्लेखनीय काम गरेको छ । एसपी थापाले नेतृत्व गरेको विगत चार महिनाको अवधिमा ५ करोड बढी राजस्व संकलन गरेको छ ।

भारतबाट अबैध रुपमा भन्सार छली निकासी तथा पैठारी गर्न लागिएको सामानहरु बरामद गरी भन्सार चलान गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी दुर्गा बहादुर थापाले जानकारी दिए । सशस्त्र प्रहरीले ४ महिनामा मात्रै १२२ वटा मोटरसाईकल, ३ वटा ट्रक, ३ वटा जीप, २ वटा कार, ६ वटा रिक्सा गरी १३६ वटा सवारी साधनबरामद गरेको थियो । बरामद गरिएका सवारीसाधन र त्यसमा ल्याइएको सामान आवश्यक कारवाहीका लागि भन्सार चलान गरिएको डीएसपी थापाले जानकारी दिए ।

सशस्त्र प्रहरीका अनुसार फागुनदेखि असार २५ गतेसम्ममा रु. ३८ लाख १९ हजार ४८५ बराबरको कुखुरा र माछा, रु. २६ लाख ५४ हजार १०० को चिनी, रु. ४९ लाख ९६ हजार ४४० को प्याज, रु. २ करोड २१ लाख २९ हजार ७२० को कपडा तथा अन्य सामानहरु र रु. २ करोड १ लाख १८ हजार ७०० को सवारीसाधन भन्सार चलान गरिएको छ ।

सीमा क्षेत्रमा भएको कडाईसँगै चोरी तस्करीका घटनामा पनि कमी आएको छ । जिल्ला प्रशाशन कार्यालयसँगै सरोकारवाला सुरक्षा निकाय तथा भैरहवा भन्सार कार्यालयको कडा निगरानीका कारण जिल्लामा तस्करहरुको भागाभाग भएको छ । सशस्त्र प्रहरी र भन्सार टीमले जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा गोदाम खडा गरी तस्करीका सामान विक्रीवितरण गर्दै गर्दा नियन्त्रणमा ल्याएको छ ।

सीमा अपराध नियन्त्रणसँगै शान्ति सुरक्षाको सवालमा पनि सशस्त्र प्रहरीले अपेक्षित काम गरेको छ । जिल्लास्थित अन्य सरोकारवाला निकायहरुसँग समयमा नै आवश्यक समन्वय तथा सहकार्य गरी आवश्यक शान्ति सुरक्षाको काम गरेको दावी गरेको छ । सीमापार अपराध नियन्त्रणको लागि काउण्टर पार्टससँग नियमित समन्वय गर्ने गरिएको तथा प्रत्येक वि.ओ.पी.बाट साप्ताहिक रुपमा काउण्टर पार्टससँग संयुक्त गस्ती सञ्चालन गर्ने गरिएको समेत डीएसपी थापाले जानकारी दिए ।

सशस्त्र प्रहरीले प्रत्येक महिना सीमा केन्द्रित ७ दिने सीमा पैदल गस्ती सञ्चालन गर्दै आएको जनाएको छ । त्यस्तै शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन तथा अन्य सुरक्षा निकायसँग समन्वय तथा छलफल गरी त्रुटीरहित तवरले कार्य सम्पादन गर्दै आएको दावी गरेको छ ।
सशस्त्र प्रहरीले लागूऔषध नियन्त्रणमा पनि यसपटक परिणाममुसख काम गरेको छ । विगत ४ महिनाको अवधिमा २ सय ८७ दशमलव ४६ के.जी. गाँजा लगायत अन्य लागूऔषध तथा ढुवानीमा प्रयोग भएको सवारीसाधनका साथै व्यक्ति समेत पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको जनाएको छ ।

जिल्लाको सीमा नाकाहरुबाट १८ जना महिलाहरुको उद्वार गरी सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । ती १८ जना महिलालाई मानव बेचबिखनका लागि लैजान लगिएको अवस्था तथा विभिन्न ठाउँबाट उद्वार गरिएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गणले सीमा सुरक्षा, मीमा अपराध नियन्त्रण र विपद् व्यवस्थापन तथा उद्वारका कार्यमा कानूनले निर्दृष्ट गरे अनुरुप काम सम्पन्न गरेको बताए । उनले भने, ‘सशस्त्र प्रहरी बल नेपालले आफूलाई प्राप्त जिम्मेवारी कुशलतापुर्वक वहन गरेको छ, सीमाको सुरक्षा गर्ने कुरा, सीमापार हुने अपराधिक गतिविधिलाई नियमन र नियन्त्रण गर्ने कुरामा, विपद् व्यवस्थापनमा अग्रपंक्तिमा खटेर भूमिका निर्वाह गर्ने जिम्मेवारी बहन गर्ने कुरामा समन्वयात्मक तथा चेन अफ कमाण्डको पालना गरेर अगाडि बढिरहेको छ ।’

भारतीय सीमासँग जोडिएको भुगोल लामो भएका कारण केही समस्या र जटिलता भए पनि सशस्त्र प्रहरीले आफ्नो गति र प्रवृत्ति अनुरुप काम गरिरहेको र यसमा सुरक्षा समितिको प्रमुखको हैसियतमा आफू सन्तुष्ट रहेको प्रजिअ अर्यालको भनाइ छ ।

विपद् व्यवस्थापन र उद्वारमा सशस्त्र प्रहरी 

सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहील विपद् व्यवस्थापन तथा उद्धारमा पनि खटिएको छ । रुपन्देही जिल्लाका विभिन्न स्थानहरुमा भएको आगलागि नियन्त्रणमा प्रहरी खटिएको थियो । साथै आगलागी रोकथामको लागि जनचेतना जगाउने उद्देश्यले जिल्लाभित्र रहेका विभिन्न युनिटहरुले माईकिङ्ग, कक्षा सञ्चालन गरी जनचेतना जगाउनुको साथै आगलागी भएका.स्थानहरुमा सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन गरी थप धनजनको क्षति हुनबाट रोक्ने काम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

4.jpg

वर्षातको समयमा रुपन्देहीमा बाढी तथा डुवानका घटनामा पनि बृद्धि भएको छ । जिल्लाका विभिन्न स्थानमा भएका बाढी तथा डुवानमा परेको नागरिकको उद्वारका लागि सशस्त्र प्रहरीले आवश्यक खोजी कार्यको काम गरेको जनाएको छ । 

वर्षातको समयमा हुने बाढी तथा डुबानमा परेका व्यक्तिहरुको उद्वार तथा बेपत्ताको खोजीको लागि सशस्त्र प्रहरी बल, नेपाल नं. ४२ रिजर्भ गण हेडक्वाटर शम्शेरगंज बाँकेसँग आवश्यक समन्वय गरी गोताखोर समेत झिकाई खोजतलास गरेको थियो । जिल्लाका विभिन्न ५ ठाउँमा ५ जना डुबेकोमा ३ जनाको उद्वार गरिएको डीएसपी थापाले जानकारी दिए ।