२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज

मंगलवार , श्रावण १, २०८१

रुपन्देही, १ साउन । 
सरकारले सोधभर्ना नदिने भएपछि लुम्बिनीका प्रादेशिक अस्पतालहरुमा विगत २ वर्षदेखि लागू हुँदै आएको निःशुल्क टिकटको सुविधा हटाइएको छ । आज साउन १ गते मंगलबारदेखि नै लागू हुने गरी लुम्बिनी प्रादेशिक अस्प्ताल र राप्ती प्रादेशिक अस्पतालमा बहिरंग सेवा तथा जनरल वार्डमा सेवाग्राहीले शुल्क तिर्नुपर्ने भएको हो । 

लुम्बिनी प्रादेशिक अस्पतालले मंगलबार एक सूचना जारी गर्दै सेवालाई स–शुल्क गरिएको जानकारी दिएको छ । सेवाग्राहीले ओपीडी सेवाका लागि ३० रुपैयाँ र पुनः दर्ताका लागि १५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यसै गरी जनरल बेडका लागि प्रतिदिन ३० रुपैयाँ तिर्नुपर्ने हुन्छ । 

अस्पतालले सेवाग्राहीलाई निःशुल्क उपलब्ध गराएको सेवा वापत सरकारले सोधभर्ना नदिने निर्णय गरेपछि पुरानै व्यवस्थालाई कायम गरी शुल्क लिन बाध्य हुनुपरेको लुम्बिनी प्रादेशिक अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए । हाल अस्पाल विकास समिति निष्क्रिय रहेको र मेडिकल सुपरीटेण्डेण्टको जिम्मेवारी समेत निष्क्रिय हुँदा अस्पतालले छुट्टै निर्णय गर्न नमिल्ने उनले बताए । यस्तो अवस्थामा सरकारको नियम लागू गर्नुपर्ने बाध्यता रहेको केसीले बताए ।

अस्पतालमा हाल दैनिक १ हजार ५ सय बढीले सेवा लिने गर्छन् । 

२०७९ साउन १ गतेदेखि लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आकस्मिक र बहिरंग सेवाको टिकट तथा शय्यावापत शुल्क नलाग्ने व्यवस्था गरिएको थियो । सोवापतको रकम सरकारले अस्पताललाई उपलब्ध गराउँदै आएको थियो । 

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी (बहिरंग सेवा) र इमर्जेन्सी (आकस्मिक सेवा) को टिकट तथा बेड (शय्या) मा शुल्क नलिने घोषणा गरेको थियो ।