
बुधवार , श्रावण २, २०८१
बुटवल, २ साउन ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु भएको छ । विगत केही महिना अघिदेखि ल्याप्रोस्कोपी मेशिन बिग्रिएर अवरुद्ध भएको सेवा यही साउन १ गतेदेखि पुनः सुचारु भएको हो ।
यो सेवा सुचारु भएसँगै विगतमा पालो कुरेर बसेका र नयाँ बिरामीहरुलाई मिलाएर शल्यक्रिया सेवा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ। सेवा सुचारुसँगै सातामा ५/६ जना बिरामीको शल्यक्रिया गर्न सकिने अस्पतालका वरिष्ठ अर्थोपेडीक सर्जन डाक्टर इन्द्र ढकालले जानकारी दिए । अस्पतालमा साताको सोमबार र बिहीबार गरी दुई दिन यो सेवा उपलब्ध हुँदै आएको छ । यो सेवालाई थप विस्तार गर्नका लागि अप्रेशन थिएटर थप गर्नुपर्ने भए पनि केही प्राविधिक समस्याले विलम्ब भइरहेको डा. ढकालले बताए ।
ढकाललाई लुम्बिनी प्रदेश सरकारले अस्पतालको मेडिकल सुपरीटेण्डेण्ट नियुक्त गरेपछि साउन महिनाभित्रै अपरेशन थिएटर थप गरी शल्यक्रिया सेवालाई दोब्बरमा वृद्धि गर्ने प्रतिवद्धता गरेका थिए । तर, उनको नियुक्तिको विषयलाई लिएर आदालतमा मुद्दा परेपछि हाल आर्थिक तथा प्रशासनिक अधिकार नभएरका कारण प्रतिवद्धता पूरा गर्न नपाइएको डा. ढकालले गुनासो गरे ।
अस्पतालमा शल्यक्रिया सेवाका लागि बिरामीले महिनौं समय पालो कुर्नुपर्ने अवस्था रहेको छ । ढकाल मेसु भएपछि गत असारदेखि अनलाइन टिकेटको व्यवस्था सुरु गरेका थिए भने अस्पतालमा नियमित औषधी सेवनका लागि आउने बिरामीहरुलाई मध्यनजर गरी विहान ८ बजेदेखि नै रिफिल सेन्टर सञ्चालनमा ल्याउने व्यवस्था गरेका थिए ।
लुम्बिनी प्रदेश सकारको गौरव आयोजनाका रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अदालतकै कारण विकास समिति निष्क्रिय छ भने मेडिकल सुपरीटेण्डेण्टको विषय पनि अदालतमै अड्किएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij