२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

परासीमा म्याराथन हुँदै

बुधवार , श्रावण २, २०८१

परासी, २ साउन ।

पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट रामग्राम स्तुपासम्म खुल्ला म्याराथन दौड प्रतियोगिता हुने भएको छ । ६२ औं ईन्जिनियर दिवसको अवसरमा प्रोग्रेसिभ ईन्जिनियर्स एसोसिएसन नेपाल (पिन) जिल्ला कमिटी पश्चिम नवलपरासीको आयोजनामा म्याराथन हुन लागेको हो । 

साउन ३ गते (भोलि) बिहीबार म्याराथन दौड हुने प्रोग्रेसिभ ईन्जिनियर्स एसोसिएसनका जिल्ला अध्यक्ष ईन्जिनियर राजु ढकालले आज सुनवलमा पत्रकार सम्मेलन गरी जानकारी दिए । उनका अनुसार दौड ५ किलोमिटर दुरीको हुनेछ । 

युवाहरूको स्वास्थ्य र फिटनेस प्रवर्द्धनका साथै भगवान् गौतमबुद्धको मौलिक अस्तिधातु रहेको संसारकै एक मात्र सम्पदा रामग्राम स्तुपलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको अध्यक्ष ढकालले बताए । 

बिहान ७ बजे परासी बुद्धचोकबाट सुरु हुने म्याराथनमा सबै उमेर समूहका व्यक्तिहरु सहभागी हुन सक्ने एसोसिएसनका उपाध्यक्ष सुवर्ण न्यौपानेले जानकारी दिए । प्रतियोगितामा करिब १ सय जना धावक सहभागी हुने अपेक्षा गरिएको उनले बताए । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद रु. १० हजार, रु. ५ हजार र रु. ३ हजारसहित शिल्ड प्रदान गरिने एसोसिएसनका सचिव शिव न्यौपानेले बताए । धावक सबैलाई आयोजकको तर्फबाट टी–सर्टको व्यवस्था गरिएको छ । प्रतियोगितामा हरेक क्षेत्रबाट सहभागी हुन पाउने गरी खुल्ला आह्वान गरिएको एसोसिएसनका सदस्य सन्देश भण्डारीले बताए ।