२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

रूपन्देहीमा ३१ हजार बढी सवारीचालकलाई लेन अनुशासन शिक्षा

बिहिवार , श्रावण ३, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, ३ साउन ।
    रुपन्देहीमा सञ्चालन भएको ‘मेरो सवारी, मेरो लेन’ सम्बन्धी सचेतना अभियानबाट ३१ हजार १ सय ९५ जना चालकलाई सचेतना शिक्षा प्रदान गरिएको छ । लेन अनुशासन पालनालाई प्रभावकारी बनाउने, उल्लंघन गर्ने चालकको बानीलाई सुधार गर्दै सवारी दुर्घटनामा न्युनीकरण गर्ने उद्देश्यले जिल्लामा सञ्चालित साताव्यापी ‘मेरो सवारी, मेरो लेन’ सम्बन्धी सचेतना अभियानबाट ३१ हजार बढी चालकलाई सचेतना शिक्षा दिइएको हो। 

    अभियानका क्रममा ठूला सवारी साधन ११ हजार ६ सय १२ र साना १९ हजार ५ सय ८३ वटाका चालकलाई लेन अनुशासन सम्बन्धी सचेतान शिक्षा दिइएको हो । यससँगै ट्राफिक सचेतनासम्बन्धी ६ हजार पर्चा बाँडिएको छ भने ५ हजार सवारीमा ‘मेरो सवारी, मेरो लेन’ लेखिएको स्किर टाँसिएको छ ।

    जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा अभियान सञ्चालन गरिएको थियो । यसबाट साना–ठूला गरी सबै किसिमका सवारीलाई लेन अनुशासनसम्बन्धी सचेतना शिक्षा दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह बिष्टले जानकारी दिए ।

    उनका अनुसार यो अवधिमा साँझ–बिहान दुई–दुई घण्टा जिल्लाका दुई दर्जन भन्दा बढी ठाउँमा सचेतना शिक्षा सञ्चालन गरिएको थियो ।
    अभियानले चालकलाई लेन अनुशासनबारे धेरै कुरा जानकारी दिएको बताउँदै आगामी दिनमा लेन उल्लंघनकै कारण हुने दुर्घटनामा समेत कमी आउने उनको  विश्वास छ । 

    असार २६ गते गृह सचिव एकनारायण अर्यालले सीमा नाका बेलहियामा ‘मेरो सवारी, मेरो लेन’ लेखिएको स्टिकर सवारीमा टाँसेर अभियानको सुरुवात गरेका थिए ।

    एक हप्तासम्म मुख्य शहरी ईलाका, राजमार्ग, हुलाकी सडक लगायतका ठाउँमा ट्राफिक प्रहरीले लेन अनुशासन सम्बन्धी सचेतना शिक्षा चलाएकोे थियो । ट्राफिक प्रहरीसँगै भैरहवा क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी, सामाजिक तथा निजी क्षेत्रका संघ–संस्थाले अभियानमा स्वयंसेवकका रुपमा सडकमा खटेर सहयोग गरेका थिए ।