
शुक्रवार , श्रावण ४, २०८१
काठमाडौं, ४ साउन ।
नेकपा माओवादी (केन्द्र) सहित प्रतिपक्षी तीन दलले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको निष्कर्ष निकालेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुको बैठकले ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार संविधान जगमा टेकेर बनेको निष्कर्ष निकालेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।
प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि सरकार संविधानको ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा संविधानको ७६ (२) अनुसार गठन भएकाले यो विषयलाई सदनमा सशक्त रुपमा उठाउने सहमति भएको उनले बताए । सत्ता पक्ष निरंकुश बन्न सक्ने खतरा, सुशासनलगायतको सुधारको कामबाट पछि हट्ने गठबन्धन बनेको भन्दै उनले जनतामा देखिएको आशंकालाई प्रतिपक्षबाट सशक्त खबरदारी गर्ने उनको भनाइ छ ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतका विषयमा प्रतिपक्षी दल साझा धारणा बनाएर अघि बढने बताए । उनले भइरहेको सरकारलाई ढालेर नयाँ सरकार बनाउने प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत माग्ने आधार नभएको जिकिर गरे ।
तीन दलले अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने निष्कर्ष पनि निकालेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij