
आइतवार , फाल्गुण १६, २०७७
बुटवल, १६ फागुन। आठ करोड भन्दा बढि रकम खर्च भैसकेपछि आगामी बैशाख १७ र २७ गते हुने भनिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको सम्पुर्ण काम स्थगित भएको छ।
प्रतिनिधि सभा बिघटनसँगै घोषणा भएको नयाँ निर्वाचनका लागि निर्वाचन आयोगले आन्तरिक तयारीका लागि अर्थ मन्त्रालयबाट ८ करोड १७ लाख ९० हजार रुपैयाँ प्राप्त गरी खर्च गरिसकेको थियो।
करिब ४ करोड रुपैयाँ निर्वाचन आयोगबाट खर्च भैसकेको र झण्डै ४ करोड १८ लाख रुपैयाँ ७७ वटै जिल्ला निर्वाचन कार्यालयमा आन्तरिक तयारीका लागि पठाईसकिएको आयोगले जनाएको छ। आयोगका प्रबक्ता राजकुमार श्रेष्ठका अनुसार अर्थ मन्त्रालयबाट प्रतिनिधि सभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९० लाख ८० हजार बजेट सुनिश्चिता भई सकेको थियो ।
आयोगले प्राप्त रकममध्ये ७७ जिल्ला निर्वाचन कार्यालयलाई उपकारण, सवारीसाधन मर्मत, इन्धन, बिजुलीलगायतका शीर्षकमा ४ करोड १७ लाख ९० लाख पठाएको थियो। आयोग केन्द्रीय कार्यालयमा पनि उपकरण मर्मत, सवारीसाधन मर्मतलगायत प्रशासनिक र सचिवालयका काममा पनि झण्डै ४ करोड बराबर खर्च भैसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।
सरकारले प्रतिनिधि सभा बिघटन गर्दै गत पुस ५ गते आगामी वैशाख १७ र २७ गते घोषणा गरेसँगै निर्वाचन आयोगले आफ्नो तयारी तीव्र बनाएको थियो । सर्वोच्च अदालतको संसद् पुनःस्थापना गर्ने निर्णयसँगै निर्वाचनका सम्पूर्ण क्रियाकलाप स्थगन गरिएको छ भने निर्वाचन सामग्री खरीदका लागि प्रकाशित बोलपत्र पनि आयोगले रद्द गर्ने क्रममा रहेको छ ।
यद्यपी सर्वोच्चबाट औपचारिक पत्र प्राप्त भैसकेको छैन्। नभए पनि आयोगले काम रोकिसकेको छ। निर्वाचन तयारी क्रममा मतदाता नामावली अद्यावधिक, निर्वाचनस्थल र केन्द्र पुनरावलोकन गर्ने काम अन्तिम चरणमा पुगेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij