
शनिवार , श्रावण ५, २०८१
काठमाडौं, ५ साउन ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै नभएको बताएका छन् ।
रफत सञ्चार क्लब भक्तपुरले शनिबार आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उनले कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै नभइ मुलुकको समग्र विकास र जनतामा विद्यमान निराशा चिर्न दृढ राजनीतिक शक्ति बोकेर आएको बताए ।
उपमहासचिव ज्ञवालीले वर्तमान सरकारको वैधानिकता भनेको नेपालको संविधानको धारा ७२ को उपधारा (२) नै भएको र उपधारा (२) मा उल्लिखित प्रावधान कुनै व्यक्ति विशेषलाई मात्र आकर्षित हुन्छ भनेर तर्क गर्नु गैरसंवैधानिक भएको टिप्पणी गरे । उनले माओवादीलगायत अन्य विपक्षी दलले संविधानको धारा ७२ को उपधारा दुईको गलत व्याख्या गरेर विषयान्तर गर्ने चालबाजी मात्र भएको पनि बताए ।
पूर्वमन्त्री समेत रहेका ज्ञवालीले दुई पटकसम्म संशोधित संविधानमा अब फेरि आवश्यक संशोधन भएको खण्डमा माओवादीले भनेजस्तो गरी कसरी पच्छगमन हुन सक्छ ? भन्ने प्रश्न गरे ।
उनले सहकारीका सम्बन्धमा संसदीय छानबिन समिति बनेको समितिले प्रतिवेदन दिएपश्चात समस्या समाधान गर्न सरकार पछि नपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij