२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

माओवादी नेतृत्वको सरकारले लय समात्न नसकेकोले नयाँ सरकार गठन भयो : ओली

आइतवार , श्रावण ६, २०८१

काठमाडौं, ६ साउन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बलिया पार्टीले काँध थाप्दा पनि अघिल्लो सरकारले लय नसमातेका कारण नयाँ सरकार गठन गर्नुपरेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले यसअघि कहिले कांग्रेस र कहिले एमालेले काँध थाप्दा पनि माओवादी नेतृत्वको सरकारले लय समात्न नसकेको र त्यसको प्रयास पनि नगरेका कारण नयाँ सरकार गठन गर्नुपरेको बताएका हुन् ।

सरकारकै कारण समाजमा दूषित परिणाम देखिने संकेत आएकाले देशलाई त्यसबाट जोगाउनका लागि कांग्रेस–एमालेबीच समीकरण बनेको उनले बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकार गठनका लागि दुई दलबीच भएको साँतबँुदे सहमति पनि सार्वजनिक गरे ।

सरकारको नेतृत्व आलोपालो गर्ने, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न साझा कार्यक्रम तय गर्ने लगाएतका सहमति दुई दलबीच भएको भन्दै उनले यसमा लुकाउनुपर्ने केही नभएको जिकिर गरे । 

प्रधानमन्त्री ओलीले भ्रष्टाचार पूर्ण रुपमा अन्त्य गर्ने गरी सरकारले काम गर्ने, सहकारी ठगी गर्ने जोसुकैलाई कारवाही गर्ने समेत बताए । उनले दुईतिहाईको बलमा नभइ देशको आवश्यकताका आधारमा सर्वसम्मत ढंगले संविधान संशोधन गर्ने उल्लेख गर्दै संविधान संशोधनबाट तर्सिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।

उनले जनतामा उत्साहको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको पनि बताए । विकास निर्माणको काममा रहेको बेथिति अन्त्य, आर्थिक रुपमा मितव्ययी बन्दै राज्यकोतर्फबाट खर्च गर्ने क्षमता वृद्धि तथा जनअपेक्षा अनुसार कानूनमा सुधार गर्ने उनले बताए ।