
आइतवार , श्रावण ६, २०८१
काठमाडौं, ६ साउन ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा स्थिरता कायम गर्न संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन गरिएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा देउवाले देश विकासको लागि पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी रहेकाले दुई ठूला दल मिलेर सरकार गठन गरिएको बताएका हुन् ।
उनले वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने, मुलुकमा दिगो शान्ति कायम गर्दै गतिशिल अर्थतन्त्रका माध्यमबाट देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्ने बताए । यसबाट राजश्वमा थप वृद्धि भइ जनचाहना अनुसारका विकास निर्माणका काम गर्न पनि सकिने उनले बताए ।
सभापति देउवाले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गरिने भन्दै संविधान संसोेधन गर्दा सबै राजनीतिक दलहरुबीच सम्वाद र सहमति कायम गर्ने जिकिर गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने विश्वास व्यक्त गरे । राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउनका लागि गठन भएको सरकार सफल हुने भन्दै सातबुँदे सहमतिको कार्यान्वयनप्रति कांग्रेस दृढ रहेको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij